५० हजार राशिको ‘साहित्य पोस्ट उत्तम कृति पुरस्कार’ केदार वाशिष्ठलाई प्रदान « Arthapath.com
२१ असार २०८२, शनिबार

५० हजार राशिको ‘साहित्य पोस्ट उत्तम कृति पुरस्कार’ केदार वाशिष्ठलाई प्रदान



काठमाडौं । यसै वर्ष स्थापना भएको ५० हजार राशिको साहित्यपोस्ट उत्तम कृति पुरस्कार, २०७७ एक कार्यक्रमकाबीच नेपाल विद्याका स्रष्टा केदार वाशिष्ठलाई अर्पण गरिएको छ । थापा गाउँस्थित कुञ्ज थिएटरमा आयोजित कार्यक्रमकाबीच उक्त पुरस्कार प्रदानत गरिएको हो ।

गोरखापत्रमा दैनिकमा कार्यरत पत्रकार केदार वाशिष्ठसँग तीन दशक लामो लेखन अनुभव रहेको कुरा साहित्यपोस्टसँगको अन्तरवार्तामा बताएका थिए । नेपाल विद्या पुस्तक उनले विद्यावारिधि गर्ने सोच बनाउँदै गर्दा उब्जिएको विषय थियो । तीन भागमा समेटिएको उक्त पुस्तकले नेपालका तीन फरक फरक क्षेत्रमा अनुसन्धान गरेको छ, जसलाई समीक्षकहरुले वर्षकै उपलब्धिका रुपमा लिएका छन् ।

साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाको सभापितत्वमा आयोजित कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा.डा. जगमान गुरूङ प्रमुख अतिथि रहनुभएको थियो । त्यस्तै निर्णाक मण्डलको सदश्यको रूपमा गोरखापत्रका पूर्व प्रधानसम्पादक तथा लघुकथा समाज, नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन विशिष्ठ अतिथिका रूपमा पाल्नुभएको थियो ।

“अहिलेसम्म कुनै व्यक्ति तथा संस्थाले गर्न नसकेको काम वाशिष्ठजीले गर्नुभएको छ, पुरस्कार प्रदानपश्चात् आफ्नो मन्तव्य राख्दै प्राडा गुरूङले भन्नुभयो, ‘नेपाल विद्याजस्तो अध्ययन पुस्तक तयार गर्नु आफैँमा साहसिक काम हो । यसको मुल्याङ्कन ढिलोचाँडो हुने नै छ ।’

त्यस्तै श्रीओम श्रेष्ठ रोदनले साहित्यपोस्टले विश्वास गरेर निर्णाकमध्ये एक सदश्यको रूपमा आफूलाई जिम्मेवारी दिएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘निर्णायक मण्डलको एक सदश्यका रूपमा नेपाल विद्याजस्तो कृतिलाई पुरस्कृत गर्न पाउँदा गौरव लागेको छ ।’

कोरोनाको कहर बाँकी नै रहेकाले २४ जना अतिथिहरूको उपस्थितिमा वाशिष्ठलाई ५० हजार नगद राशिको साथमा ताम्रपत्र प्रमुख अतिथि प्राडा गुरूङका हातबाट अर्पण गरिएको हो । कार्यक्रमको अन्तिममा समापन मन्तव्य राख्दै अश्विनी कोइरालाले भन्नुभयो, “योजना त बृहत् कार्यक्रमको आयोजना गरेर पुरस्कार अर्पण गर्ने थियो । त्यसै कारणले पनि वैशाखमै घोषणा भइसकेको पुरस्कार प्रदान गर्ने कार्यक्रम सर्दै योबेलासम्म आइपुग्यो । तर कोरोनाको कहर घटेन । यसपटक यस्तै भयो ।’

पहिलो पुस्तक लेखेर नेपाली भाषा साहित्यमा औपचारिक पाइला चालेका लेखकहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले सुरु भएको साहित्यपोस्ट उत्तम कृति पुरस्कारका लागि २७ पुस्तकहरु यसको परिधिमा परेका थिए । वर्षभरि छापिएका ती पुस्तकहरुलाई साहित्यपोस्टसँग आबद्ध पत्रकार, साहित्यकार एवं शुभेच्छुकहरु गरेर १५ जना निर्णायकहरुले पहिलो नौ पुस्तक छानेका थिए ।

साहित्यपोस्ट उत्तम कृति पुरस्कारको सौजन्य चर्चित साहित्यकार पारिजातका सहयोगी उत्तमप्रसाद पन्तले गरेका हुन् । पन्त आफैँ खारिएका लेखक हुन् । उनले लामो समय राणाकालमा जलसमाधि लिएकी क्रान्तिकारी योगी योगमायाका विषयमा अनुसन्धान गरेका थिए ।

‘राम्रो कृतिलाई पुरस्कृत गर्न पाउँदा मलाई अपार हर्ष लागेको छ ।’ पन्तले साहित्यपोस्टसँग भने, ‘आमागी वर्षहरुमा यस्तै डेब्यु लेखकलाई प्रोत्साहन गर्न पाइयोस् भन्ने इच्छा छ ।’


प्रतिक्रिया दिनुहोस्