रू. ६५ ग्यारेन्टी बोनससहित सानिमा लाइफले ल्यायो ‘सानिमा बाल सौगात जीवन बीमा योजना’ « Arthapath.com
२२ भाद्र २०७८, मंगलवार

रू. ६५ ग्यारेन्टी बोनससहित सानिमा लाइफले ल्यायो ‘सानिमा बाल सौगात जीवन बीमा योजना’



काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्सले सानिमा बाल सौगात जीवन बीमा योजना ल्याएको छ । इन्स्योरेन्सले बालबच्चाको शिक्षादीक्षा र सुरक्षित भविष्यको लागि बाल सौगात सावधिक जीवन बीमा योजना ल्याएको हो ।

उक्त बीमा योजनामा आमाबुबा प्रस्तावक भएर न्यूनतम ३ महिना र अधिकतम ११ वर्षसम्मका बालबालिकाको बीमा गर्न पाउने छन् । बाल सौगात बीमा योजनामा न्यूनतम ५० हजार र अधिकतम बीमाङ्क इच्छा र क्षमता अनुसार निर्धारण गर्न सकिने इन्स्योरेन्सले जनाएको छ ।

उक्त योजनामा बीमा अवधि समाप्तभएपछि कुनै बीमाशुल्क भुक्तानी गर्न नपर्ने गरी थप ५ वर्षको लागि मूल बीमाङ्क बराबरको जोखिम बीमा कमपनीले नै बहन गर्ने छ । यस योजनामा बीमिले प्रतिहजार बीमाङ्कमा ६५ रुपैयाँ ग्यारेन्टी बोनस बिमकले दिने छ । यो सुविधा सुरुआति ५ वर्षसम्म कायम रहने छ । अर्थात् १० लाखको बीमा गर्नेले पहिलो ५ वर्षसम्म वार्षिक ६५ हजार पाउने छन् ।

उक्त योजनामा बीमा गरिसकेपछि बालबच्चाले १७, १८, १९ र २० औँ जन्मोत्सवमा बीमाङ्कको २०–२० प्रतिशतका दरले रकम प्राप्त गर्ने छन् । बिमित बालबालिका २१ वर्ष पुगेपछि बीमाङ्कको बाँकी २० प्रतिशत रकम प्राप्त हुने छ । यसका साथै ग्यारेन्टी बोनस (प्रतिहजार ६५ रुपैयाँ) र नियमानुसारको थप अवधिको आर्जित बोनस समेत एकमुष्ट प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यस्तो बीमा योजनामा बालबालिका २१ वर्षको हुँदा बीमा अवधि समाप्त हुने गरी बीमा गर्न पाइने छ । उदाहरणका लागि ३ महिनाको बच्चाको बीमा गर्दा २१ वर्षे बीमा गर्न सकिन्छ भने ११ वर्षको बालबालिकाको बीमा गर्दा १० वर्ष अवधिको बीमा गर्नु पर्ने हुन्छ ।

बीमा अवधिमा बालबच्चाको मृत्यु भएमा बीमितलाई अग्रीम भुक्तानी गरेको रकम गणना नै नगरी मूल बीमाङ्क र ग्यारेन्टी बोनस सहित नियमानुसार आर्जित बोनस रकम एकमुष्ट परिवारलाई प्रदान गर्ने कम्पनीले जनाएको छ ।

इन्स्योरेन्सले बीमाशुल्क भुक्तानी गर्ने तरिकाको आधारमा बीमा शुल्कमा छुट दिने छ । यस्तो अभ्यास सबैजसो बीमा योजनामा हुन्छ । यस योजनामा पनि वार्षिक भुक्तानीमा १.५ प्रतिशत र अर्धवार्षिक भुक्तानीमा ०.७५ प्रतिशत छुट दिने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्