नेपाल पुनर्बीमा कम्पनीको लाभांश परिमार्जन, अब १९ प्रतिशत मात्रै दिने « Arthapath.com
२३ भाद्र २०७८, बुधबार

नेपाल पुनर्बीमा कम्पनीको लाभांश परिमार्जन, अब १९ प्रतिशत मात्रै दिने



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको लाभांश परिमार्जन भएको छ । अब कम्पनीले हाल कायम चुक्ता पुँजीको १६.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि २.५० प्रतिशत नगद गरी कुल १९ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । कम्पनीले यसअघि प्रस्ताव गरेको २० प्रतिशत लाभांश पारिमार्जन गरेको हो । यसअघि कम्पनीको असार ७ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा र सेयर प्रिमियमबाट चुक्तापुँजीको १६.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

बीमा समितिको निर्देशानुसार कम्पनीको भदौ २२ गते बसेको संचालक समितिको ३५९ औं बैठकबाट उक्त लाभांश परिमार्जन गरेको बताइएको छ । आर्थिक वर्ष २०७६–७७ को परिमार्जित वित्तीय विवरण अनुसार कम्पनीमा रहेको सेयर प्रिमियम बाहेकको वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजी १० अर्ब रुपैयाँको १६.६० प्रतिशत बोनस र २.५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

परिमार्जित लाभांश वितरणका गर्न कम्पनी ऐन, २०६३ को दफा १८२ को उपदफा २ को प्रावधान बमोजिम अर्थमन्त्रालय समक्ष स्वीकृतिका लागि अनुरोध गर्ने छ । उक्त प्रस्ताव अर्थमन्त्रालय र नियामक निकाय बीमा समितिबाट स्वीकृत प्राप्त भई साधारणसभाबाट पारित भए पश्चात लाभांश वितरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्