मध्य भोटेकोशीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, साढे २१ लाखभन्दा बढीले दिए आवेदन

काठमाडौँ । मध्य भोटेकोसी जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । असोज २० गते मङ्गलवार देखी सर्वसाधारणका लागि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको कम्पनीको आईपीओमा आज कार्यालय समयसम्म मात्र आवेदन दिन पाइन्छ ।
कम्पनीले ९० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यका ९० लाख कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको हो । जसमध्ये ४ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरूका लागि, ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी ८१ लाख ९० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुटाइएको छ ।
कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्कासन तथा बिक्री प्रबन्धकहरूमा एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सिबिआइएल क्यापिटल मार्केट रहेका छन् ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैङ्क तथा वित्तीय संस्थाहरू तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
आइपिओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर टिङ्गर नेपालले कम्पनीलाई केयरएनपी डबल बी आईएस टिङ्गर प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ ।
आइतबारसम्म मध्य भोटेकोसी जलविद्युत् कम्पनीको आईपीओमा साढे २१ लाखभन्दा बढीले आवेदन दिएका छन् । हिजो साँझसम्ममा उक्त कम्पनीको आईपीओमा २१ लाख ५९ हजार २६ जना आवेदकले ३ अर्ब २९ करोड ७७ लाख १७ हजार रुपैयाँ बराबरको ३ करोड २९ लाख ७७ हजार १७० कित्ता शेयरको लागि आवेदन दिएका आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जानकारी दिएको छ । यो ४ दशमलव शून्य ३ गुणा बढी हो ।