आज बडादसैँको सातौँ दिन, घरघरमा फूलपाती भित्र्याइँदै « Arthapath.com
२६ आश्विन २०७८, मंगलवार

आज बडादसैँको सातौँ दिन, घरघरमा फूलपाती भित्र्याइँदै



काठमाडौँ । बडादसैँको सातौँ दिन आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदै छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज घरघरमा फूलपाती भित्र्याएर मनाउने गरिन्छ ।यस वर्षको फूलपाती हनुमानढोकामा अपराह्न साढे चार बजे भित्राइने कार्यक्रम रहेको छ ।

फूलपातीको प्रचलन र महत्त्वबारे केही कथन प्रचलित छन् । घटस्थापनाको दिनदेखि नै दसैँ सुरु भए पनि दसैँको चहल–पहल भने आज अर्थात् फुलपातीदेखि सुरु हुन्छ । घर–घरमा फूलपाती भित्र्याएपछि दसैँको रौनक सुरु हुन्छ । शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक मानेर फूलपाती भित्र्याइने गरिन्छ । हनुमान ढोका दरबारको दसैँ घरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ ।

आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने नेपालीको महान् चाड दसैँ अर्थात् दुर्गा पूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्छ । आजैका दिनदेखि दसैँको सार्वजनिक विदा पनि सुरु हुने भएकाले सरकारी कार्यालय तथा विभिन्न पेसा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर भवानीको प्रसादका रूपमा टीका थाप्न आआफ्नो घर फर्कने क्रम अझ तीव्र बढ्ने गर्दछ । 


प्रतिक्रिया दिनुहोस्