मेरोमाइक्रोफाइनान्स लघुवित्त १० औँ वर्षमा प्रवेश, २.७० अर्ब निक्षेप संकलन गरी १५.३० अर्ब बढी कर्जा लगानी गर्यो

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड दशौ वर्षमा प्रवेश गरेको छ । स्थापनाको नवौं वर्ष पूरा गरी दशौ वर्षमा प्रवेश गरेको अवसरमा संस्थाले शुक्रवार एक अनौपचारीक कार्यक्रम गरी स्थापना दिवश मनाएको हो । संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले छोटो समयमा मेरोमाइफोफाइनान्सले नेपालको लघुवित्त क्षेत्रमा छुट्टै किसिमको ब्राण्ड बनाएको बताए ।
देशका गणनीय ७ वटा बाणिज्य बैंक र १ विकास बैंकको संयुक्त प्रवद्र्धनमा नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहने गरी २०६९ साल कात्तिक २६ गते राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापना भएको थियो । संस्थाले ग्राहक सुहाउँदो बिभिन्न किसिमका बचत तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
संस्थाले कर्जातर्फ बिना धितो, सामूहिक जमानी कर्जा र धितो कर्जा अन्तर्गत विभिन्न किसिमका कर्जा सेवाहरुका साथै बीमा र रेमिट्यान्स सेवा प्रवाह गरिरहेको छ । संस्थाले आफ्ना ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखी प्रविधिमैत्री लघुवित्त सेवा प्रदान गर्दै लैजाने क्रममा मोबाइल बैंकिङ, एसएमएस बैकिङ लगायतका सेवा प्रदान गरिरहेको छ ।
संस्था सञ्चालनको पहिलो वर्षमा १५ शाखा कार्यालयमार्फत १४ हजारभन्दा बढी घरपरिवारहरुमा वित्तीय सेवा दिएको थियो । संस्थाले नवौंैं वर्षमा आइपुग्दा देशको ६४ जिल्लामा १४९ शाखा सञ्जालमार्फत १ लाख ५० हजारभन्दा बढी घरपरिवारमा वित्तीय सेवा पुर्याउन सफल भएको छ । त्यसैगरी हालसम्म रु. २ अर्ब ७० करोड बराबर निक्षेप संकलन गरी रु. १५ अर्ब ३० करोडभन्दा बढी कर्जा लगानी गरेको छ ।
संस्थाले जोखिम व्यवस्थापनलाई कुशलतापूर्वक व्यवस्थापन गरेको र संस्थाले सांगठनिक संरचना, विभिन्न ८ वटा विभाग र १३ वटा अनुगमन स्टेशनमार्फत कार्यक्रमको प्रभावकारिता मापन गरी अग्रणी लघुवित्त सेवा प्रदायक संस्थाको रुपमा स्थापित गर्न सफल भएको छ । संस्थाले अवलम्बन गरेको कार्यशैली एवं रणनीति, कुशल नेतृत्व, सन्तुष्ट कर्मचारी संगठनले नै संस्थाको छवि कायम राख्न सफल रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत दाहालले बताए ।