नेप्सेको सीईओको लागि ३ जना सिफारिस, मन्त्रीपरिषदको बैठकको पर्खाईमा नेप्से « Arthapath.com
२६ पुष २०७८, सोमबार

नेप्सेको सीईओको लागि ३ जना सिफारिस, मन्त्रीपरिषदको बैठकको पर्खाईमा नेप्से



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीइओ) का लागि विभिन्न ३ जनाको नाम सिफारिस गरेको छ । सीईओ छनोट समितिले नेप्सेको सीईओका लागि ३ जनाको नाम सिफारिस गरेको हो ।

छनोट समितिले कृष्णबहादुर कार्की, डा.केशव श्रेष्ठ र डा. रमेशकुमार भण्डारीको नाम सिफारिस गरेको स्रोतले बताएको छ । यी ३ जनामध्येबाट एक जना नेप्सेको सीईओ बन्ने छ । अर्थमन्त्रालयले मन्त्रिपरिषदको बैठकमा पेश गरेपछि एक जनालाई ४ वर्षका लागि नेप्सेको सीईओ बनाउनेछ । अब बस्ने मन्त्रीपरिषदको बैठकले यी ३ जनामध्येबाट एक जनालई सीईओ नियुक्त गर्ने छ ।

लामो समयपछि नेप्सेले प्रमुख कार्यकारी अधिकृत पाउने भएको हो । गत भदौदेखि सीईओ विहीन भएको नेप्सेले यसै महिनाभित्र सीईओ पाउने निश्चित जस्तै छ । सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरणमा मुछिएका नेपाल स्टक एक्सचेन्च (नेप्से) का पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले भदौ ८ गते राजीनामा दिएका थिए ।

अर्थ मन्त्रालयले गठन गरेको छनौट तथा सिफारिस समितिले नेप्सेको सीईओका लागि ५ जनाको नाम सर्ट लिस्टमा सार्वजनिक गरेको थियो । उक्त समितिले कृष्ण बहादुर कार्की, डा. केशव बहादुर श्रेष्ठ, प्रविण पन्दाक, रमेश घिमिरे र डा. रमेशकुमार भण्डारीको नाम सर्ट लिस्ट गरेको थियो । समितिले पौष २५ गते आइतबार अन्तवार्ताका लासग बोलाएको थियो । जसमध्येबाट ३ जनाको नाम सिफारिस गरेको हो ।

सीईओ बन्नका लागि जम्मा ११ जनाले आवेदन दिएका थिए । आवेदन दिनेमा नेप्सेका हालका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल, उपप्रबन्धक प्रविन पन्दाक, जीवन अमगाई, डा. रमेश कुमार भण्डारी, केशव कुमार श्रेष्ठ, रमेश घिमिरे, कृष्ण बहादुर कार्की, दिपक गौतम, गोविन्द प्रसाद दाहाल, बद्री प्रसाद प्याकुरेल, र छवीराज पन्त रहेका थिए ।

अर्थ मन्त्रालयका सहसचिव रमेश केसीको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो । समितिमा मन्त्रालयकै सहसचिव रितेश शाक्य र विज्ञ सदस्यमा नेप्सेका पूर्वअध्यक्ष जीवनाथ धिताल छन् ।


प्रतिक्रिया दिनुहोस्