जोखिममा आधारित पूँजी कायम गर्न प्राविधिक तयारी यस बर्ष भित्रै बीमा कम्पनीले सकाउनु पर्ने « Arthapath.com
२० माघ २०७८, बिहीबार

जोखिममा आधारित पूँजी कायम गर्न प्राविधिक तयारी यस बर्ष भित्रै बीमा कम्पनीले सकाउनु पर्ने



काठमाडौं । बीमा समितिले जोखिममा आधारित पूँजी तथा सोल्भेन्सी सम्बन्धी निर्देशिका २०७८ जारी गरेको छ । आगामी आर्थिक वर्षदेखि लागू हुनेगरी जारी भएको निर्देशिका अनुसार जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई जोखिममा आधारित पूँजी कायम गर्नुपर्नेछ ।

आगामी आर्थिक वर्ष २०८०/८१ देखि २०८४/८५ भित्र जोखिममा आधारित पूँजी कायम गर्नु पर्ने समितिले जारी गरेको निर्देशिकामा उल्लेख छ । जोखिममा आधारित पूँजी कायम गर्नको लागि प्रविधिक तयारी भने चालू आर्थिक वर्ष भित्रै बीमा कम्पनीले सकाउनु पर्नेछ ।

निर्देशिका अनुसार जोखिममा आधारित पूँजी अपुग भए वा सोल्भेन्सी अनुपात न्यून भएमा बीमा कम्पनीहले आगामी चार वर्षभित्र यसलाई सुधार गरेर जोखिममा आधारित पूँजी वा सोल्भेन्सी अनुपात कायम गर्नुपर्नेछ ।

बीमा समितिले न्युनतम चुक्ता पूँजी तोकिएका भएपनि निर्देशिका अनुसार कम्पनीको क्षमता अनुसार चुक्ता पूँजी कायम गर्नुपर्ने हुन्छ । त्यस अनुसार जोखिमको आधारमा बीमा कम्पनीहरुको पूँजी कम्पनी अनुसार फरक पर्नेछ ।

बीमा समितिको निर्देशन अनुसार हाल जीवन बीमाहरुको न्युनतम चुक्ता पूँजी दुई अर्ब रुपैयाँ र निर्जीवन बीमाको एक अर्ब रुपैयाँ कायम गनुपर्ने व्यवस्था छ । समितिले बीमाको दायरा विस्तार हुदै गर्दा जोखिम बढेको तर बीमा कम्पनीहरुको पूँजी भने न्युन रहेको भन्दै जोखिममा आधारित पूँजी कायम गर्न निर्देशिका जारी गरेको हो ।

समितिले विश्व बैंकको सहयोगमा जोखिममा आधारित पूँजी सम्बन्धी निर्देशिका लागू गर्न लागेको हो ।


प्रतिक्रिया दिनुहोस्