विजय लघुवित्तको मुनाफा साढे १० करोड पुग्यो, चुक्तापूँजी ३२ करोड माथि जाँदा अन्य सूचक कस्तो ?

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष असार मसान्तसम्मको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार लघुवित्तको खुद नाफा १६.२४ प्रतिशतले घटेर १० करोड ४७ लाख १९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद नाफा १२ करोड ५० लाख २७ हजार रुपैयाँ आर्जन गरेको थियो ।
गत आवमा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानी घटेकाले नाफा घटेको हो । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १०.३५ प्रतिशतले घटेर ३४ करोड १५ लाख ६३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधि लघुवित्तको खुद ब्याज आम्दानी ३८ करोड ९ लाख ९७ हजार रुपैयाँ आर्जन गरेको थियो ।
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्मको अवधिमा लघुवित्तले १९ करोड ५ लाख ३९ हजार रुपैयाँ संचालन नाफा गरेको लघुवित्तले गत आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा संचालन नाफा १७ प्रतिशतले घटेर १५ करोड ८१ लाख ४४ हजार रुपैयाँ आर्जन गरेको छ ।
त्यसैगरी चुक्ता पूँजी ३२ करोड रहेको कम्पनीले जगेडा कोषमा २२ करोड ८८ लाख सञ्चित गरेको छ । समिक्षा अवधिमा लघुवित्तको सापटी ६.१८ प्रतिशतले बढेर ३ अर्ब ८ करोड १७ लाख ८५ हजार रुपैयाँ, निक्षेप संकलन १४.३६ प्रतिशतले बढेर १ अर्ब १३ करोड ६६ लाख १७ हजार रुपैयाँ, कर्जा ९.०४ प्रतिशतले बढेर ४ अर्ब ७१ लाख १० लाख ५ हजार रुपैयाँ आर्जन गरेको छ ।
सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ७२ पैसा र प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ १६ पैसा रहेको छ ।