सुनकोसी तेस्रो जलाशययुक्त जलविद्युत आयोजना लगानी गर्न बंगलादेश तयार « Arthapath.com
८ भाद्र २०७९, बुधबार

सुनकोसी तेस्रो जलाशययुक्त जलविद्युत आयोजना लगानी गर्न बंगलादेश तयार



काठमाडौं । काभ्रेपलाञ्चोक र रामछाप जिल्लाको सीमानामा पहिचान भएको ६ सय ८३ मेगावाटको सुनकोसी तेस्रो जलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्न बंगलादेश तयार देखिएको छ । आयोजनाको अनुमानित लागत एक अर्ब ४५ करोड ८० लाख अमेरिकी डलर रहेको छ ।

नेपालले २५ साउन ०७५ मा भएको संयुक्त कार्यदल र निर्देशक समितिको तेस्रो बैठकमा जलविद्युत क्षेत्रमा सहकार्यका लागि पाँचवटा जलविद्युत आयोजनाको प्रस्ताव बंगलादेश समक्ष गरेको थियो । बैठकमा पहिलो चरणमा सुनकोसी तेस्रोलाई अगाडि बढाउन आयोजनाको संयुक्त रूपमा स्थलगत भ्रमण गर्ने सहमति भएको थियो ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले कोसी नदी जलस्रोत विकास अध्ययनका क्रममा सन् १९८५ मा आयोजनाको पहिचाहन गरेको थियो । जाइकाले गरेको अध्ययनलाई सन् २०१४ मा अध्यावधिक गरिएको थियो । बिपी राजमार्गको नेपालथोकबाट करिब एक किलोमिटर रामेछापको खाँडादेवी र काभ्रेको तेमाल गाउँपालिको सीमानामा पर्ने लुभुघाटमा १८० मिटर अग्लो बाँध निर्माण गरी नदीलाई थुनिने छ । आयोजनाको जलाशय ४५ किलोमिटर माथिसम्म फैलिन्छ । जसअनुसार, सिन्धुपाल्चोकस्थित सुनकोसी नदीतर्फ बलेफी बजारभन्दा माथि र इन्द्रावती नदीतर्फ सिपाघाटसम्म जलाशय फैलिने छ ।

इआइए प्रतिवेदनअनुसार, आयोजनाबाट सिन्धुली, काभ्रे, रामेछाप र सिन्धुपाल्चोकका १३ स्थानीय तहका ४५ वटा वडाहरू प्रभावित हुने छन् । आयोजनाबाट ३२ सय ३७ हेक्टर जग्गा डुवानमा पर्नेछ । यसका लागि ३३ सय हेक्टर निजी जग्गा अधिग्रहण गर्नुपर्ने छ भने ६ सय ५५ हेन्टर वन क्षेत्रको जग्गा पर्नेछ । आयोजनाबाट ११ हजार सात सय जनसंख्या विस्थापित हुने देखिएको छ । वार्षिक रूपमा दुई अर्ब ३५ करोड ६२ लाख युनिट उत्पादन हुने विद्युतमध्ये हिउँदयाममा ६२ करोड २३ लाख युनिट उत्पादन हुनेछ ।


प्रतिक्रिया दिनुहोस्