यती एयरलाइन्सले थप्यो नयाँ विमान « Arthapath.com
२१ भाद्र २०७९, मंगलवार

यती एयरलाइन्सले थप्यो नयाँ विमान



काठमाडौं । यति एयरलाइन्सले ७० सिट क्षमताको एटीआर ७२–५०० विमान थपेको छ ।

अष्ट्रेलियाको एभासन कम्पनीसंग लिजमा ल्याएको उक्त विमान सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ ।

एम एस एन नं. ९८६ सिरिजको उक्त विमानको पहिलो उडान सन् २०११ मा भएको थियो । जम्मा १० हजार साइकल मात्र उडान गरेको उक्त विमान नेपालमा उडान गर्ने अन्य विमान भन्दा पछिल्लो विमान भएको कम्पनीले दाबी गरेको छ ।

एटीआर विमानको जम्मा साइकल ७० हजार हुन्छ । एक अवतरणलाई एक साइकल गणना गरिन्छ । विमान संख्या थप गरेसँगै कम्पनीले हाल उडान गर्ने गन्तव्यमा नै सेवा विस्तार गर्ने नीति लिएको कम्पनीले जनाएको छ।

एटीआर ७२–५०० टर्बोप्रप विमानको पछिल्लो पुस्ताको प्रतिनिधित्व गर्छ । ७० सिटको क्षमताको यो विमान टर्बोप्रप इन्जिन भएको उत्कृष्ट विमान मानिन्छ । पीडब्ल्यू १२७ इन्जिनहरूद्वारा सञ्चालित एटीआर ७२–५०० आकारको विमानको लागि उत्कृष्ट मानिन्छ ।

अन्य विमान भन्दा कम आवाज र कम्पन हुने तथा इन्टेरियर उत्कृष्ट भएकोले उडानको क्रममा आरामदायी हुने विश्वास लिएको कम्पनीले जनाएको छ ।

यो विमानले नयाँ पुस्ताका जेटहरू भन्दा प्रति यात्रु–किमीमा लगभग ५० प्रतिशत कम कार्बन उत्सर्जन गर्दछ र पुराना विमानहरू भन्दा तीन गुणा कम कार्बन उत्सर्जन गर्दछ । यती एअरलाइन्स दक्षिण एसियामा पहिलो कार्बन न्युट्रल एअरलाइन्स हो ।

Tags :

प्रतिक्रिया दिनुहोस्