एनआरएनएको लगानी भित्राउन ऐन संशोधन गरिदै « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

एनआरएनएको लगानी भित्राउन ऐन संशोधन गरिदै



काठमाडौं । नेपालमा भित्राईने लगानीमध्ये विदेशीले गर्ने लगानी र गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गर्ने लगानीमा फरक फरक व्यवस्था गरिने भएको छ । एनआरएनएको माग अनुसार सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन संशोधन गर्ने भएको हो ।

सरकारले केही नेपाल ऐन संशोधन प्रस्ताव मार्फत विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनको दफा ३ को उपदफा ३ मा थप व्यवस्था गर्दै विदेशी लगानीको सीमा निर्धारण गर्दा अन्य विदेशी लगानीकर्ता र गैरआवासीय नेपालीको सीमा फरक हुने प्रस्ताव गरिएको छ ।

दफा ३ को उपदफा तीनमा विदेशी लगानीको सीमा निर्धारण गरिने र त्यस्तो सीमाभन्दा न्यून लगानी स्वीकृत नगरिने उल्लेख गरिएको छ । ऐन अनुसार सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै सीमा निर्धारण गर्छ । यो ऐन अनुसार सरकारले हाल ५ करोड रुपैयाँ बराबरको लगानी तोकेको छ ।
चालु वर्षको बजेटबाट यस्तो सीमा २ करोडमा झार्ने प्रस्ताव गरिएको छ । अब सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै गैरआवासीय नेपालीको हकमा फरक हुने छ । संशोधन प्रस्ताव पारित भएमा एनआरएनहरुका लागि फरक सीमा निर्धारण हुनेछ ।

एनआरएनहरूका लागि नेपालको धितोपत्रदेखि अन्य लगानीका माध्यम खुला गरिने घोषणा भएपनि लगानीको न्यूनतम सीमाका कारणले सफल नभएको गैरआवासीय नेपाली संघले बताउँदै आएको छ । संघले विदेशी लगानीको सीमा आफूहरूलाई नलगाउन माग गर्दै आएको थियो । यद्यपि अहिलेको संशोधन प्रस्तावले सीमा नै नलाग्ने व्यवस्था गरिएको छैन । अन्य लगानीकर्ताभन्दा फरक हुने व्यवस्था प्रस्ताव गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्