भारतले हटायो फलाम निर्यातको अतिरिक्त कर, नेपालमा पनि फलाम र छड सस्तिने « Arthapath.com
७ मंसिर २०७९, बुधबार

भारतले हटायो फलाम निर्यातको अतिरिक्त कर, नेपालमा पनि फलाम र छड सस्तिने



काठमाडौं । भारतले ६ महिनाअघि न्यून गुणस्तरको कच्चा फलाम निर्यातमा लगाएको अतिरिक्त कर हटाएको छ । यस्तो कर इण्टरमिडियट स्टील अर्थात् कुनै निश्चित वस्तु नबनाइएको स्टील निर्यातमा पनि लगाइएको थियो । फलामको मात्रा ५८ प्रतिशतभन्दा कम भएको धातु ‘आइरन ओर लम्प्स’ र मध्येवर्ती स्टील ‘फाइन्स’को निकासीमा लगाइएको ५० प्रतिशत अतिरिक्त कर शनिबारदेखि नै हटाइएको छ ।

भारत सरकारले ६ महिनाअघि नै अन्य किसिमका फलाम निर्यातमा समेत ५० प्रतिशत कर लगाएको थियो, जुन अब ३० प्रतिशतमा झारिएको छ । स्वदेशी बजारमा कच्चा फलामको उपलब्धता बढाएर मूल्य नियन्त्रण गर्न भन्दै भारतले निर्यातमा कर बढाएको थियो । यसले भारतबाटै कच्चा फलाम आयात गरेर बेच्ने नेपालजस्ता बजारमा बढी प्रभाव परेको थियो ।

उता, भारतमै पनि निर्यात ब्यापारमा ठूलो गिरावट आएको थियो । यो वर्ष भारतको फलाम निकासी पोहोरको तुलनामा आधा भन्दा पनि कम भएको तथ्यांक सार्वजनिक गरेको थियो । यही कारण भारतका प्रमुख स्टील उत्पादक कम्पनीहरुले सरकारलाई यस्तो अतिरिक्त कर घटाउन दवाव दिइरहेका थिए ।

महँगि र मन्दीउन्मुख भएकाले अहिले अन्तरराष्ट्रिय बजारमा फलामाको माग ब्यापक घटेको आँकडा आइरहेका छन् । यस्तो बेला सरकारले कर कटौति गरे पनि यसले निर्यात बढाउनेमा भारतका खानि उद्योगिहरुको संस्थाले शंका जनाएको छ ।

तर कर कटौति गर्ने भारतको निर्णयले नेपाली बजारलाई भने सहुलियत मिल्ने छ । नेपाली फलाम उद्योगीले सस्तोमा कच्चा पदार्थ किन्न पाउने छन् । नेपालमा पनि रड तथा फलामको माग बढ्न नसकेकाले यस्ता वस्तुको मूल्य सस्तिने संभावना बलियो बनेको छ ।

एजेन्सीको सहयोगमा ।

Tags :

प्रतिक्रिया दिनुहोस्