नेपालमा ब्यापारीमात्रै होइन, भारतमा मुख्यमन्त्री नै जग्गा हडपेको भनेर पुगे थुनामा « Arthapath.com
१८ माघ २०८०, बिहीबार

नेपालमा ब्यापारीमात्रै होइन, भारतमा मुख्यमन्त्री नै जग्गा हडपेको भनेर पुगे थुनामा



काठमाडौं । नेपालमा प्रतिष्ठित ब्यापारिक घरानाका एक व्यवसायी अरुण चौधरीलाई प्रहरीले गिरफ्तार गरेको छ । यही बेला छिमेकी भारतमा मुख्यमन्त्रीले नै राजिनामा दिएर गिरफ्तारी दिन बाध्य भएका छन् । झारखण्ड राज्यका मुख्यमन्त्री हेमन्त सोरेनलाई बुधबार राति नै सम्पत्ति शुद्धिकरण तथा विदेशी मुद्रा अपचलनसम्बन्धि अनुसन्धान गर्ने संस्था ‘इन्फोर्समेन्ट डाइरक्टरेट’ले गिरफ्तार गरेको छ ।

उनले भारतीय सेनाको भोगचलनमा रहेको ४.५ एकड (झण्डै ३६ रोपनी) जग्गा अनधिकृत रुपमा हात पारेको आरोप लगाइएको छ । अनुसन्धान निर्देशनालयले ६ घण्टा लामो बयान लिएपछि बुधबार साँझ मुख्यमन्त्री सोरेनले तुरुन्त राजिनामा बुझाएका थिए । त्यसपछि उनलाई प्रहरीले गिरफ्तार गरेको थियो । मुख्यमन्त्री सोरेनभन्दा पहिले यस मुद्दामा निर्देशनालयले अरु १४ जनालाई गिरफ्तार गरेर अनुसन्धान गरिरहेको थियो ।

समाचारहरुमा जनाइए अनुसार सोरेनले सेनाको जग्गामात्रै होइन, अन्यत्र पनि अनधिकृत रुपमा जग्गा आफ्नो र परिवारको नाममा नामसारी गरेको प्रमाण भेटिएका छन् । यसबारे प्रमाणहरु खोज्न र थप अनुसन्धान गर्न बाँकी नै रहेको छ ।

नेपाल र झारखण्डबीचको सबैभन्दा छोटो दूरी करीब ११० किलोमिटर छ । २३ वर्षअघि बिहारलाई टुक्राएर झारखण्ड नयाँ राज्य गठन गरिएको थियो । सोरेन झारखण्ड मुक्ति मोर्चा नामको राजनीतिक दलको तर्फबाट मुख्यमन्त्री थिए । झारखण्डको राज्य विधान सभामा ८१ मध्ये ३० सीट उनको दलसँग थियो । अब उनको गिरफ्तारीपछि उनको दलसँग २९ सीट छ ।

त्यहाँ दोस्रो ठूलो दल भारतीय जनता पार्टीसँग २६ र भारतीय राष्ट्रिय कांग्रेसका १७ सांसद राज्य विधान सभामा छन् । क्षेत्रीयताबादी विचारधारालाई अघि बढाएको झारखण्ड मुक्ति मोर्चाबाट सोरेन दुई पटक मुख्यमन्त्री र एक पटक उपमुख्यमन्त्री बनिसकेका छन् ।

सन् २०१३ सम्म मुक्ति मोर्चा पनि भारतीय जनता पार्टीको नेतृत्वमा रहेको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए)को एक सदस्य थियो । तर दश वर्षअघि २०१४ को चुनावमा यस दलले एनडीको साथ छाडेर संयुक्त प्रगतिशिल गठबन्धन (यूपीए)मा सहभागि भएको थियो । यो गठबन्धनको नेतृत्व भारतीय राष्ट्रिय कांग्रेसले गर्छ ।

मुख्यमन्त्रीको राजिनामा आएको २४ घण्टा वित्नलग्दासम्म त्यहाँ नयाँ सरकार गठनको प्रक्रिया सुरु नभएको भनेर टिप्पणीहरु भइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्