हाइड्रोपावरहरुको नाफामा संकुचन: ४९ वटा नाफा देखिँदा तीन दर्जन कम्पनीले व्यहोरे घाटा, कसले कति कमाए ?

काठमाडौं । जलविद्युत कम्पनीहरूको वित्तीय अवस्थामा खास सुधार आउन सकेको छैन । अधिकांश कम्पनीहरू नोक्सानीमै छन् भने धेरैको नाफा लगायतका वित्तीय सूचकमा गिरावट आएको छ । सञ्चालनमा रहेका मध्ये ८६ वटा कम्पनीहरूले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
प्रकाशित विवरणअनुसार २२ वटा कम्पनीको नाफामा केही सुधार आएको छ, ३४ वटा नोक्सानीमै छन् भने यी बाहेकका कम्पनीहरूको नाफा घटेको छ । कम्पनीहरूको विद्युत् बिक्री आम्दानी बढ्दा पनि नाफा प्रभावित भएको छ । समीक्षा अवधिमा कम्पनीहरूले विद्युत् बिक्रीबाट हुने आम्दानी दोहोरो अङ्कले देखिन्छ । तर, पनि कम्पनीहरूको नाफामा भने सुधार आउन सकेको छैन ।

यो वर्षको हिउँदमा आयोजनाहरूको विद्युत् उत्पादन पनि घटेको छ । नेपालमा नदी प्रवाहमा आधारित (आरओआर) आयोजना छन् । त्यो अवस्थामा नदीमा हुने पानीअनुसार विद्युत् उत्पादन हुन्छ । बर्खामा खोलामा पानी बढी हुँदा पूर्ण क्षमतामै विद्युत् उत्पादन हुन्छ । तर, हिउँदमा खोलामा पानी कम हुँदा विद्युत् उत्पादन पनि कम हुन्छ । तर, यसपालि हिउँदमा पानी नपर्ने, हिउँ नपर्ने लगायतका कारण खोलामा पानीको बहाव झन् घटेको छ, त्यसले गर्दा आयोजनाहरूको विद्युत् उत्पादन पनि ठुलो मात्रामा घटेको छ । यसरी विद्युत् उत्पादन घट्दा पनि कम्पनीहरूको नाफा प्रभावित भएको ऊर्जा व्यवसायीहरू बताउँछन् ।
तीन दर्जन कम्पनी नोक्सानीमा, सबैभन्दा धेरै अरुण कावेली र अपर तामाकोशी
समीक्षा अवधिमा तीन दर्जन जलविद्युत कम्पनीहरू नोक्सानीमा छन् । सबैभन्दा धेरै अरुण काबेली पावर र अपर तामाकोशी हाइड्रोपावर कम्पनी नोक्सानीमा छन् । अरुण काबेली ३१ करोड ५ लाख ८७ हजार रुपैयाँ र अपर तामाकोशी २५ करोड ७६ लाख रुपैयाँ नोक्सानीमा छ । यद्यपि, यी दुवै कम्पनीहरूले गत आवको सोही अवधिको तुलनामा भने नोक्सानी घटाएका छन् । यस्तै, मोदी इनर्जी १९ करोड ८६ लाख, बलेफी हाइड्रोपावर १६ करोड ७२ लाख, पिपुल्स हाइड्रोपावर १२ करोड ८१ लाख, पाँचथर पावर १० करोड ५३ लाख, न्यादी १० करोड ६४ लाख बराबरको नोक्सानीमा देखिएका छन् ।
यस्तै, गत वर्षको नाफामा रहेका लिवर्टी इनर्जी, अरुण काबेली, पाँचथर पावर, एशियन, रिभर फल्स, बरुण, राप्ती, अपर हेवा खेला, हिमालयन हाइड्रोपावरले पनि यो वर्षको दोस्रो त्रैमासमा घाटा व्यहोरेका छन् ।

नाफामा देखिए ४९ कम्पनी, शीर्ष सूचीमा साहस ऊर्जा र चिलिमे हाइड्रोपावर
अघिल्लो वर्षको तुलनामा घटे पनि ४९ वटा हाइड्रोपावर कम्पनीहरू भने नाफामा देखिएका छन् । समीक्षा अवधिमा सबैभन्दा धेरै नाफा साहस ऊर्जाले कमाएको छ । कम्पनीले ४५ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । कम्पनीको यो नाफा गत वर्षको तुलनामा पनि ११२.३३ प्रतिशत बढाएको हो ।

धेरै नाफा कमाउनेको दोस्रो सूचीमा भने चिलिमे हाइड्रोपावर देखिएको छ । कम्पनीले ६ महिनामा ३७ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । तर, यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा भने ५.५ प्रतिशत कमी हो । यस्तै, तेस्रो सूचीमा रहेको माउन्टेन इनर्जीले पनि ६ महिनामा ३५ करोड, चौथो स्थानमा सानिमा माई हाइड्रोपावरले ३३ करोड ४१ लाख र पाँचौँ स्थानमा रहेको ग्रिन भेन्चर्सले ३० करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
नाफा वृद्धिदरको आधारमा भने पहिलो सूचीमा तेह्रथुम पावर देखिएको छ । गत आवको दोस्रो त्रैमासमा ६ लाख मात्रै नाफा कमाएको कम्पनीले यो वर्षको सोही अवधिमा ६४ लाख रुपैयाँ खुद नाफा कमाएको हो । यस्तै, मकर जितुमाया, मीड सोलु, दोर्दी खोला लगायतका कम्पनीहरूको नाफा उच्च वृद्धि देखिन्छ ।
कसले कति कमाए ?
