राेकिएन वैदेशिक अध्ययनका लागि बाहिरिने ठुलो रकम, अर्थव्यवस्थामा कस्तो असर पार्ला ? « Arthapath.com
३ चैत्र २०८०, शनिबार

राेकिएन वैदेशिक अध्ययनका लागि बाहिरिने ठुलो रकम, अर्थव्यवस्थामा कस्तो असर पार्ला ?



काठमाडौं । नेपाली विद्यार्थीहरूको विदेश अध्ययन उच्च मोह रोकिएको छैन । अर्थात् नेपालबाट वैदेशिक अध्ययन शीर्षकमा बाहिरिने रकम बढ्दो क्रममा नै छ ।

पछिल्लो समयमा विदेश अध्ययनका लागि जाने विद्यार्थीहरूको सङ्ख्यासँगै यस मार्फत बाहिरिने विदेशी मुद्रा पनि उत्तिकै बढ्दो छ । चालु आर्थिक वर्षको सात महिनामै यस्तो शीर्षकमा बाहिरिने रकम साढे ६६ अर्ब माथि छ ।

नेपाल राष्ट्र बैङ्कका अनुसार गत माघ मसान्तसम्ममा वैदेशिक अध्ययन शीर्षकमा नेपालबाट कुल ६६ अर्ब ६४ करोड १२ लाख रुपैयाँ बाहिरिएको छ । जुन, गत आवको सोही अवधिको तुलनामा ५२.३४ प्रतिशत बढी हो । गत आवको माघ मसान्तसम्ममा नेपालबाट विदेश पढ्न जाने विद्यार्थीहरूले ४३ अर्ब ७४ करोड ३८ लाख रुपैयाँ लगेका थिए । गत आवभर पनि नेपालबाट कुल १ खर्ब ४२ करोड ३३ लाख रुपैयाँ वैदेशिक अध्ययन शीर्षकमा बाहिरिएको थियो । यस्तै, अघिल्लो आवमा पनि नेपालबाट सो शीर्षकमा ६७ अर्ब ७० करोड १६ लाख रुपैयाँ बाहिरिएको राष्ट्र बैङ्कका आँकडा छ ।

किन उच्च देखिन्छ नेपाली विद्यार्थीको विदेश अध्ययन मोह ?

नेपाली विद्यार्थीहरू विश्वका दर्जनौँ मुलुकहरूमा अध्ययनका लागि जाने गरेका छन् । अमेरिका, अस्ट्रेलिया, जापान, क्यानडा, जर्मनी, न्युजील्याण्ड लगायत विश्वका धेरै मुलुकहरू नेपाली विद्यार्थीहरूको अध्ययन गन्तव्य बनेको छ ।

पढाइका साथै राम्रो कमाई हुने भएपछि नेपाली विद्यार्थी बिदेसिने गरेका छन् । विशेषसरि कक्षा १२ (प्लस टु) र ब्याचलर पढेर विदेश पढ्न जाने विद्यार्थीहरूको सङ्ख्या निकै बाक्लिँदो छ ।

विदेशमा पढ्दै काम गर्दा पनि आम्दानी गर्न सक्ने र पढिसकेपछि योग्यता अनुसार काम पाउने अवसर हुने भएकाले पनि नेपाली विद्यार्थीहरूको विदेश अध्ययन मोह बढ्दै गएको विज्ञहरू बताउँछन् । उनीहरू रोजगारीको नयाँ अवसर र आर्थिक अवस्था बलियो बनाउनकै लागि अध्ययनका लागि बिदेशिने गरेका हुन् ।

नेपालमा रोजगारीको अवसर नहुनुले पनि बिदेसिनेको सङ्ख्या दैनिक बढ्दो क्रममा छ । नेपालमा उच्च शिक्षाको गुणस्तरप्रति अविश्वास बढ्दो नै छ । अर्को तर्फ अध्ययन सकेपछि पनि रोजगारीको अवसर कम हुन्छ । यसले पनि भविष्य सुरक्षित बनाउनकै लागि नेपाली विद्यार्थी विदेश अध्ययन गर्न जाने गरेको जानकारहरू बताउँछन् ।

तर, नेपालमा पढ्न आउने विदेशी मार्फत भित्रने रकमको बढ्दो ग्राफ

विदेश अध्ययनका लागि नेपालबाट बाहिरिने ठुलो सङ्ख्या छ । बर्सेनि वैदेशिक अध्ययन शीर्षकमा अर्बौ विदेशी मुद्रा बाहिरिन्छ । तर, नेपाल अध्ययनका लागि आउने विदेशी विद्यार्थीहरूको पनि सङ्ख्या बढ्दो नै छ ।

राष्ट्र बैङ्कका अनुसार चालु आवको ७ महिनामा विदेशी विद्यार्थीहरूले अध्ययनका लागि ३ अर्ब ४० करोड ५० लाख रुपैयाँ नेपाल ल्याएका छन् । यो गत आवको माघ मसान्तसम्मको तुलनामा ६८.७२ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा विदेशी विद्यार्थीहरूले नेपालमा अध्ययनका लागि कुल २ अर्ब २ करोड ३५ लाख रुपैयाँ ल्याएका थिए ।

नेपालका विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि विदेशी विद्यार्थी आउने गर्छन् । उनीहरू नेपालमा कानुन, डाक्टर लगायत विषय अध्ययन गर्न आउने गरेका हुन् । नेपालका त्रिभुवन विश्वविद्यालय लगायतका युनिभर्सिटीमा विदेशी विद्यार्थी अध्ययनरत छन् । उनीहरूले नेपालमा आवास खर्च, कलेज शुल्क लगायतका शीर्षकमा ठुलो रकम खर्च गर्छन्, त्यसबापत विदेशी मुद्रा पनि भित्रिने गरेको छ । यदि, नेपालको शिक्षालाई अझै गुणस्तर बनाएमा ठुलो सङ्ख्यामा विदेशी विद्यार्थी आउन सक्छन्, फलस्वरूप विदेशी मुद्राको आम्दानी समेत बढ्ने विज्ञहरू बताउँछन् ।

गत आव २०७९/८० मा पनि विदेशी विद्यार्थीहरू मार्फत नेपालमा कुल ४ अर्ब ६ करोड ४७ लाख रुपैयाँ भित्रिएको थियो । त्यसभन्दा अघिल्लो आवभर १ अर्ब ५१ करोड ४१ लाख रुपैयाँ, र त्यो भन्दा पनि अघिल्लो आवमा कुल १ अर्ब ४ करोड ५९ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा नेपाल भित्रिएको थियो ।

शिक्षा मार्फत बाहिरिने र भित्रने रकममा ६३ अर्बको अन्तर, अर्थव्यवस्थामा कस्तो असर गर्छ ?

नेपालबाट शिक्षा मार्फत बाहिरिने रकम पनि बढ्दो नै छ । यता, सोही शीर्षकमा नेपाल भित्रन विदेशी मुद्रा पनि बढ्दो नै देखिन्छ । तर, नेपाल भित्रने र बाहिरिने रकममा ठुलो खाडल छ । चालु आवको ७ महिनाका आँकडा अनुसार नेपालबाट बाहिरिने र भित्रने रकममा ६३ अर्ब २३ करोड ६२ लाख रुपैयाँको अन्तर छ ।

गत आवको वार्षिक तथ्याङ्क अनुसार पनि शिक्षा मार्फत बाहिरिने र भित्रने रकमको अन्तर ९६ अर्ब ३५ करोड ८५ लाख रुपैयाँ छ । वार्षिक तथा मासिक रूपमा शिक्षा मार्फत नेपालबाट बाहिरिने ठुलो रकमले भने अर्थव्यवस्थामा असर गर्ने विज्ञहरू बताउँछन् ।

ठुलो मात्रामा यस्तो रकम बाहिरिँदा आगामी दिनमा विदेशी मुद्रा सञ्चितिमा दबाब पर्न सक्ने विज्ञहरूको भनाई छ । यद्यपि हाल विदेशी मुद्रा सञ्चिति बलियो रहेको राष्ट्र बैङ्कको तथ्याङ्क छ । देशको अर्थव्यवस्थापनमा समेत अल्पकालीन तथा दीर्घकालीन रूपमा असर गर्ने विज्ञको भनाई छ । शिक्षाकै लागि ठुलो रकम बाहिर खर्च हुँदा मुलुकले अन्य क्षेत्रमा गर्ने लगानी अभाव हुन सक्ने समेत जानकारहरू बताउँछन् ।

विदेशी विद्यार्थीलाई आकर्षित कसरी गर्ने ?

नेपालबाट शिक्षाका लागि बिदेसिने विद्यार्थीहरूलाई रोक्नुपर्ने विज्ञहरू बताउँछन् । उनीहरूलाई स्वदेशमै अध्ययन र रोजगारीको वातावरण बनाउन आवश्यक रहेको उनीहरूको तर्क छ । त्यसका लागि राज्यले सम्भावना देखाइदिने र स्वदेशमै अध्ययन र रोजगारीको वातावरण बनाउन आवश्यक रहेको विज्ञहरू बताउँछन् ।

नेपाललाई शैक्षिक हब नै बनाएर अघि बढ्नु पर्ने उनीहरूको सुझाव छ । नेपालमा सञ्चालित र बन्दै गरेका युनिभर्सिटी तथा कलेजहरूको भौतिक पूर्वाधारलाई प्राथमिकताका साथ व्यवस्थित गर्नुपर्ने देखिन्छ । ‘विदेशी विद्यार्थीहरूलाई नेपालमा अध्ययनका लागि ल्याउन नीतिगत सहजीकरण आवश्यक रहेको छ । कानुनी रूपमा झन्झट रहेकाले यसको समाधान गर्नै पर्छ’, एक विज्ञले भने । यद्यपि, यसमा धेरै प्रकारका चुनौती तथा समस्या पनि रहेको उनको भनाई छ ।

यता, प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले नेपाली शिक्षा प्रणाली र नेपाली विद्यार्थीहरूको विदेश अध्ययन मोहमा चिन्ता र चासो व्यक्त गरेका छन् । उनले केही महिना अघि एक सार्वजनिक कार्यक्रममै विदेशी विद्यार्थी आकर्षित गर्नुपर्ने बताए ।

नेपालबाट बाहिरिने विद्यार्थीहरूलाई स्वदेशमै अध्ययन गर्ने र रोजगारीको अवसर सृजना गराउन आवश्यक रहेको उनको भनाई थियो । यसका लागि सरकारले आवश्यक छलफल, नीतिगत सुधार र प्रक्रिया अघि बढाएको प्रधानमन्त्री जानकारी दिएका थिए । उनले मुलुकको शिक्षा प्रणाली, संरचना, पाठ्यक्रम र कार्यशैलीमा गुणात्मक परिवर्तन आवश्यक रहेको बताएका थिए ।

‘विद्यार्थी पलायनबाट देशको युवा जनशक्ति मात्र बाहिरिरहेको छैन, देशको ढुकुटी पनि उनीहरूसँगै बाहिरिँदै गएको छ’, उनले भनेका थिए,‘विद्यार्थी पलायन रोक्न शिक्षा नीतिलाई सकेसम्म युवा उपयोगी बनाएर नेपाली विद्यार्थीलाई यहीँका विद्यालय, विश्वविद्यालयमा अध्ययन गर्न प्रोत्साहन गर्नुपर्छ।’

यता, विज्ञहरूको पनि विदेशी विद्यार्थीलाई नेपालका विश्वविद्यालयमा अध्ययन गर्न आकर्षित गर्ने शिक्षा प्रणाली लागू गर्नै पर्ने सुझाव छ । सोही अनुसारको शिक्षा प्रणालीको विकास भएको खण्डमा देशको रकम बाहिरिने भन्दा पनि विदेशी मुद्रा ठुलो मात्रामा नेपाल भित्रने अवस्था सृजना हुने बताउँछन् ।

सरकारले विदेशी विद्यार्थीहरूलाई सुरक्षित र सहज रूपमा अध्ययनका लागि वातावरण मिलाउन सके बर्सेनि शिक्षा मार्फत बाहिरिने रकम पनि कम हुने र मुलुकको विदेशी मुद्रा आर्जन पनि बढ्ने विज्ञहरू सुझाव छ ।


प्रतिक्रिया दिनुहोस्