नेपालले पहिलो पल्ट कार्बन ब्यापारबाट पैसा पाउँदै, विश्व बैंकले १ अर्ब ६० करोड दिने « Arthapath.com
२६ बैशाख २०८१, बुधबार

नेपालले पहिलो पल्ट कार्बन ब्यापारबाट पैसा पाउँदै, विश्व बैंकले १ अर्ब ६० करोड दिने



काठमाडौँ । नेपालले यो वर्ष इतिहासमै पहिलो पल्ट कार्बन ब्यापारबाट पैसा प्राप्त गर्ने भएको छ । आगामी जुन महिना अर्थात् अवको ७ हप्ताभित्र पहिलो चरणमा नेपालले पैसा प्राप्त गर्न लागेको हो ।

पहिलो चोटी विश्व बैंकबाट नेपालले कार्बनको पैसा पाउने भएको छ । यसका लागि नेपालले करीब १ अर्ब ६० करोड रुपैयाँ प्राप्त गर्ने भएको हो । नेपालमा कार्बन ब्यापारमा काम गरिरहेको निकाय ‘रेड कार्यान्वयन केन्द्र’का प्रमुख नवराज पुडासैनीले यस्तो जानकारी दिए ।

विकासोन्मुख मुलुकहरुमा वन फँडानी तथा वन क्षयिकरणबाट हुने उत्सर्जनलाई घटाउन प्रयास गरिरहेको सरकारी संस्थालाई ‘रेड कार्यान्वयन केन्द्र’ भनिन्छ । यो कार्यालयले वनको दिगो व्यवस्थापन गर्ने गरेको छ । यसरी जंगललाई चुस्त बनाएर खुद कार्बन सञ्चिति बढाउन सकेमा मात्रै कार्बन ब्यापार अघि बढ्न ।

यसमा कार्बन सञ्चिति भनेको अलग्गै भण्डारण गृह बनाएर पेट्रोल भण्डारण गरेजस्तो होइन । निरन्तर रुपमा भइरहेको वन क्षयिकरणले हाम्रो खुद कार्बन उत्सर्जन बढ्दै गएको थियो । तर त्यस्तो वन क्षयिकरणलाई रोकेर वनको मात्रा बढाउँदा थपिएका रुखले वायुमण्डलबाट कार्बन ग्यास सोसेर लिन्छन् । यसरी जिवित रुखले सोस्ने कार्बनलाई नै ‘सञ्चिति’ भनिएको हो ।

अहिले संसारमा नेपाल र कोस्टारिकामात्रै त्यस्ता देश छन्, जसले सन् १९९० को तुलनामा वन बढाएका छन् । बाँकी सबै देशमा वनको क्षयिकरण भएको छ । यसले नेपाललाई कार्बन ब्यापारमा अग्रता दिलाउन सघाउँछ । तर कार्बन ब्यापारका लागि पश्चिमा संस्थाहरुले अपनाएको प्रक्रियागत झमेलाले भने यसमा जटिलता निम्त्याएको जानकार बताउँछन् ।

रेड कार्यान्वयन केन्द्रले पनि औपचारिक रुपमै कार्बन ब्यापारको प्रक्रिया अघि बढाएको ९ वर्षपछि बल्ल पहिलो चोटी भुक्तानी पाउन लागेको जनाएको छ । नेपालले सन् २०१५ देखि औपचारिक रुपमै यस काममा पाइला चालेको थियो । त्यसअघि सन् २००८ देखि नै कार्बन ब्यापारको पूर्वतयारी सुरु भएको थियो । तर अझैसम्म यसबाट नेपालले पैसा हातपार्न सकेको छैन ।

अहिले नेपालले बागमती नदीदेखि कञ्चनपुरको महाकाली नदीसम्म तराइका १३ वटा जिल्लामा भएको वन विस्तारलाई लिएर पैसा पाउन लागेको हो । कार्बन उत्सर्जन घटाएबापत दाबी गरिएको यस्तो भुक्तानी प्राप्त गर्ने दक्षिण एसियाकै पहिलो मुलुक नेपाल बन्ने भएको छ ।

केन्द्र प्रमुख पुडासैनीले वन क्षेत्रको तथ्यांकलाई विस्वसनीय बनाउने र कार्बन मापन गर्ने काम निकै जटिल भएको बताए । यसै कारण अहिलेसम्म संसारमा निकै कम मुलुकले मात्रै कार्बन ब्यापारबाट पैसा प्राप्त गर्न सकेका छन् । क्रोएसिया, कोस्टारिका, केन्या, घानाजस्ता देशले यसअघि नै कार्बन ब्यापारबाट पैसा लिन थालिसकेका छन् ।

नेपालले १ टन कार्बन उत्सर्जन घटाए बापत ५ अमेरिकी डलर पैसा पाउने भएको छ । यसरी कार्बन ब्यापारबाट पैसा पाउनेमा दक्षिण एसियामा पहिलो र एसियामै तेस्रो देश बन्न लागेको नेपालले भविष्यमा अन्य परियोजनाको पनि यसरी नै कार्बन ब्यापार गर्ने रणनीति बनाएको पुडासैनीले जानकारी दिए ।

अमेरिका, नर्वे, ब्रिटेन र दक्षिण कोरियासहित विभिन्न २५ वटा अन्य कम्पनीहरु संलग्न संस्थासँग समझदारी गरेर लुम्बिनी, बागमती र गण्डकी प्रदेशमा वन क्षयिकरण घटाएर कार्बन उत्सर्जन पनि घटाउने गरी कार्बन ब्यापारको प्रक्रिया अघि बढेको छ ।

त्यसबाट सन् २०२६ सम्म ८ करोड अमेरिकी डलर हाराहारी पैसा प्राप्त गर्ने योजनामा काम भइरहेको रेड कार्यान्वयन केन्द्रले जनाएको छ । यो सम्झौतामा भने नेपालले १ टन कार्बन उत्सर्जन घटाएबापत १० डलर प्राप्त गर्ने सम्झौता सन् २०२१ मा भएको थियो ।


प्रतिक्रिया दिनुहोस्