सेयर बजारको उकालो यात्रामा ब्रेक : नेप्सेसँगै कारोबार रकम पनि घट्यो
काठमाडौं । सेयर बजारको उकालो यात्रामा सेयर बुधबार ब्रेक लागेको छ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक ९.५४ अंकले घटेर २०१७.९७ बिन्दुमा रोकिएको छ।
आइतबारदेखि निरन्तर बढिरहेको बजार आज भने घटेको हो । मंगलबार बजार २८.६२ अंकले वृद्धि भएको थियो ।
आज उत्पादन तथा प्रशोधन, व्यापार समूह र म्यूचुअल फण्ड बाहेक अन्य सबै सूचक राताम्य बनेका छन् ।
बजारसँगै कारोबार रकम पनि घटेको छ । यस दिन ३१५ कम्पनीको ८४ लाख ९० हजार ७२२ कित्ता सेयर खरीदबिक्री हुँदा ३ अर्ब ७० करोड ८४ लाख ३० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार ४ अर्ब ८ करोड ८८ लाख ५३ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
उक्त दिन पिपुल्स पावर कम्पनीको सर्वाधिक ११ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
बुधबार उपकर लघुवित्त र युनिक नेपाल लघुवित्तको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ ।
यता, गुराँस लघुवित्तको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।