अझै भेटिएनन् त्रिशूलीमा खसेका बस « Arthapath.com
२८ असार २०८१, शुक्रबार

अझै भेटिएनन् त्रिशूलीमा खसेका बस



काठमाडौं । पहिरोले त्रिशुली नदीमा खसेका बस अझै फेला परेको छैन । नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसाएका दुईवटा बस अहिलेसम्म नभेटिएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेनाको गोतखोर टोली र नेपाल प्रहरीले बस खसेको केही बेरमै खोजी सुरु गरे पनि बसको अवस्था पत्ता लाग्न नसकेको हो । सशस्त्र प्रहरीका ३ वटा बोट र नेपाली सेनाको १ वटा बोटमार्फत गोताखोरको टोली त्रिशूली नदीमा गएर खोजी कार्य गरिरहेको छ । तर अहिलेसम्म केही पनि फेला पार्न नसकिएको उनले बताए ।

पानीको चाप अत्यधिक र धमिलो भएकाले नदीको गहिराइसम्म गोताखोर पुग्न सक्ने अवस्था नभएपछि चुम्बक फालेर बसको खोजी सुरु गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सिमलतालमा आज बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले बगाएको थियो ।

तीन यात्रु पौडी खेलेर किनारामा निस्किएका थिए । दुइटा बसमा कति यात्रु थिए अहिलेसम्म यकिन हुन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस्