१४ अर्ब बढ्यो जीवन बीमा व्यापार: व्यवसाय बढाउन प्रभु महालक्ष्मी र नेशनल लाइफ तगडा, कसको ग्रोथ कस्तो ? « Arthapath.com
४ श्रावण २०८१, शुक्रबार

१४ अर्ब बढ्यो जीवन बीमा व्यापार: व्यवसाय बढाउन प्रभु महालक्ष्मी र नेशनल लाइफ तगडा, कसको ग्रोथ कस्तो ?



काठमाडौं । एक वर्षमा जीवन बीमा व्यापार डेढ खर्ब नाघेको छ । हाल संचालनमा रहेका १४ ठुला जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा १ खर्ब ५६ अर्ब बढी बीमा शुल्क आर्जन गरेका हुन् ।

नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको गत आव २०८०/८१ को साउनदेखि असार मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

एक वर्षमा कम्पनीहरुले आफ्नो व्यापार १३ अर्ब ९६ करोड २४ रुपैयाँ बढाएका हुन् । गत वर्ष कम्पनीहरुले १ खर्ब ५६ अर्ब ३१ करोड ७९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरुले अघिल्लो आर्थिक वर्षको तुलनामा व्यापार १० प्रतिशत बढाएका हुन् ।

अघिल्लो आवमा पनि कम्पनीहरुले १ खर्ब ४२ अर्ब ३५ करोड ५४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । समिक्षा अवधिमा सबै कम्पनीहरुको व्यावसायमा बढोत्तरी देखिएको छ ।

व्यापार नेपाल लाइफसहित चार कम्पनीको हिस्सा ठुलो

जीवन बीमा व्यापारमा नेपाल लाइफको अग्रता कायमै छ । गत आवमा नेपाल लाइफले ४० अर्ब ५ करोड ३४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो कुल व्यवसायमा २६.१३ प्रतिशत योगदन हुन आउँछ । नेपाल लाइफले अघिल्लो आवको तुलनामा व्यापार ९.८९ प्रतिशत बढाएको हो । अघिल्लो आवमा कम्पनीले ३७ अर्ब १७ करोड ५१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

नेपाल लाइफपछि दोस्रो ठुलो हिस्सा भने नेशनल लाइफको १२.२ प्रतिशत छ । गत आवमा नेशनल लाइफले १९ अर्ब २० करोड २८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

यता, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी) ले पनि १८ अर्ब ९ करोड ९७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको कुल व्यवसायमा १०.६२ प्रतिशत हिस्सा छ। एलआइसी नेपालले व्यापार एक वर्षमा ३.६६ प्रतिशत बढाएको हो । अघिल्लो आवमा कम्पनीले १७ अर्ब ४६ करोड १४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

व्यवसाय बढाउन प्रभु महालक्ष्मी र नेशनल लाइफ तगडा, एशियन र आइएमई पनि शीष सूचीमा

व्यवसाय वृद्धि गर्न भने प्रभु महालक्ष्मी लाइफ अगाडि देखिएको छ। प्रभु महालक्ष्मीले अघिल्लो वर्ष ३ अर्ब ६५ करोड ९५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । तर, गत वर्ष आइपुग्दा भने १९.४८ प्रतिशत बढाएर ४ अर्ब ३७ करोड २४ लाख रुपैयाँ पुगेको छ।

व्यवसाय बढाउन नेशनल लाइफ पनि तगडा देखिएको छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा १६.८७ प्रतिशत व्यापार बढाएको हो ।

यस्तै, तेस्रो सूचीमा रहेको एशियन लाइफले पनि गत वर्ष ८ अर्ब ५ करोड १५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १४.७४ प्रतिशत बढी हो । यता, आइएमई लाइफले पनि व्यापार १३.३० प्रतिशत बढाएर ४ अर्ब ७४ करोड १३ लाख रुपैयाँ पुर्याएको छ ।

यस्तै, हिमालयन लाइफको पनि ११.५० प्रतिशत बढाएको छ। यता, रिलायवल नेपाल पनि व्यापार दोहोरो अंक (१०.८६ प्रतिशत) ले बढाएको छ । समिक्षा वर्षमा सूर्यज्योति लाइफले व्यापार ७.७९ प्रतिशत बढाएर ९ अर्ब ४९ करोड ७८ लाख रुपैयाँ पुयाएएको छ ।

यता, राष्ट्रिय जीवन बीमा कम्पनीले पनि ४.८७ प्रतिशत बढाएर ८ अर्ब ७१ करोड ४९ लाख, सिटिजनले ५.४२ प्रतिशत बढाएर ६ अर्ब २१ करोड ५३ लाख, सानिमा रिलायन्सले ९.१३ प्रतिशत बढाएर ६ अर्ब १८ करोड ८३ लाख, मेट लाइफले ९.९२ प्रतिशत बढाएर ५ अर्ब ६७ करोड ८९ लाख रुपैयाँ पुर्याएका छन् । गत वर्ष सन नेपाल लाइफले भने ३ अर्ब ८८ करोड ५४ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ।

स्रोतः नेपाल बीमा प्राधिकरण, रकम लाखमा


प्रतिक्रिया दिनुहोस्