सेयर बजारको उछाल कायमै :  कारोबारमा नयाँ रेकर्ड, रच्ला त नयाँ इतिहास ? « Arthapath.com
१६ श्रावण २०८१, बुधबार

सेयर बजारको उछाल कायमै :  कारोबारमा नयाँ रेकर्ड, रच्ला त नयाँ इतिहास ?



पछिल्लो समय सेयर बजार निरन्तर उकालो लागिरहेको छ । लामो समय बजारले गति लिन नसक्दा निराश बनेका लगानीकर्ताहरू बजार बढेसँगै उत्साहित देखिन्छन् । नेप्से परिसूचकसँगै कारोबार रकम पनि आक्रामक ढंगले बढिरहेको छ ।

यस दिन कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको छ । बुधबार सेयर बजारमा २१ अर्ब ९१ करोड १५ लाख  रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाली सेयर बजारमा यो नै सबैभन्दा बढी कारोबार हो ।  यसअघि २०७८ साउन ३१ गते २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँको कारोबार भएर नयाँ रेकर्ड बनाएको थियो ।

आज नेप्से परिसूचक ६४.२५ अंकले बढेर २७६०.९० बिन्दुमा पुगेको छ ।

बजारले लगातार उकालो यात्रा तय गरेसँगै लगानीकर्ताको मनोबल मात्र बढेको छैन । बजारले यसअघिका रेकर्ड तोड्नेमा समेत उनीहरू विश्वस्त देखिन थालेका छन् ।

सरकार परिवर्तन, लगानीकर्ताले रुचाएका विष्णु पौडेल अर्थमन्त्री र बजारमा लगाइएका कसिलो नीतिहरू खुकुलो हुनेगरी आएको मौद्रिक नीतिले गर्दा पनि बजार नयाँ इतिहास रच्ने यात्रामा रहेको विश्लेषकहरू बताउँछन् ।

यसअघि २०७८ भदौ २ गते ३१९९ बिन्दुमा बजार बन्द भएर अलटाइम हाइ रेकर्ड बनाएको नेप्सेले त्यसपश्चात उक्त रेकर्ड तोड्न सकेको छैन ।उक्त दिन ‘इन्ट्रा डे’ नेप्सेले ३२१२ बिन्दु चुम्यो ।

यसको भोलिपल्ट भदौ ३ गते बजारपुँजीकरण ४४ खर्ब ६८ अर्ब ५० करोड ५२ लाख ९० रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भयो ।

त्यसयता भने बजारले करीब ३ वर्ष अघिको कुनैपनि रेकर्ड तोड्न सकेको छैन । नेपालको सेयर बजारको इतिहासमा २०७८ साल ऐतिहासिक वर्षको रूपमा रह्यो । अब त्यो रेकर्ड तोडिने लगानीकर्ता बताउँछन् ।

आज कारोबार अवधिभर ३३२ कम्पनीको ५ करोड ९ लाख ६७ हजार ९५१ कित्ता सेयर खरिदबिक्री भयो ।

१३ वटै सूचकमा हरियाली छाउँदा आज फाइनान्स समूहको सेयर मूल्यमा उछाल देखिएको छ । यस समूहमा आज ८.०८ प्रतिशतको बढोत्तरी भयो । त्यसपछि लगानी समूहमा पनि लगानीकर्ता झुम्मिएका छन् ।

यस दिन १९१ कम्पनीको सेयर मूल्य बढ्दा ४४ कम्पनीको घटेको छ । ७ कम्पनी भने स्थिर छन् ।

कारोबारमा नयाँ रेकर्ड बन्दा हिमालयन रि-इन्स्योरेन्सको सर्वाधिक ८४ करोड ४९ लाख ९४ हजार रुपैयाँको कारोबार भयो । माउन्टेन इनर्जी, शिवम् सिमेन्ट, नेपाल फाइनान्स, अपि पावर लगायत कम्पनी पनि सर्वाधिक कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्