बाढी पहिरोको क्षतिले ९ अर्बको बीमा दाबी, भुक्तानी दिनमा शिखर आक्रामक ! « Arthapath.com
२ कार्तिक २०८१, शुक्रबार

बाढी पहिरोको क्षतिले ९ अर्बको बीमा दाबी, भुक्तानी दिनमा शिखर आक्रामक !



काठमाडौँ । गत असोज १० पछिको बाढी, पहिरो र डुबानका कारण बीमा कम्पनीहरुमा करीब ९ अर्ब रुपैयाँको दाबी परेको छ । साना–ठूला गरी १८ बीमा कम्पनीमा कुल ८ अर्ब ९८ करोड ३० लाख २६ हजारभन्दा बढीको बीमा दाबी परेको नियामक नेपाल बीमा प्राधिकरणले जनाएको छ ।

यो विवरण २९ असोजसम्मको हो । कुल ३२ सय ४४ वटा बीमा दाबी परेको नियामकले जनाएको छ । रकमका आधारमा कुल दाबीमध्ये झण्डै ७५ प्रतिशत सम्पत्ति बीमामा दाबी परेको छ । त्यसपछि इञ्जिनियरिङ तथा ठेकेदार जोखिममा बढी दाबी परेको छ ।

तेस्रो ठूलो दाबी मोटर बीमामा परेको छ । ८१६ वटा निजी र ३४० वटा सार्वजनिक सवारी साधनमा क्षति पुगेको भन्दै बीमा दाबी गरिएको छ । यस्तो बीमा दाबी कुनै पनि सवारीसाधनको पूर्ण बीमा (फुल इन्स्योरेन्स) भएको अवस्थामा मात्रै गर्न मिल्छ ।

कम्पनीगत विवरण हेर्ने हो भने यस अवधिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा बढी दाबी परेको छ । कुल दाबी ९ अर्बमध्ये झण्डै २ अर्ब त यो एक्लो कम्पनीमा दाबी परेको छ । त्यसपछि दी ओरियण्टल इन्स्योरेन्समा पनि करीब डेढ अर्बको दाबी परेको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्समा पनि १ अर्बभन्दा बढीको दाबी परेको छ । यी दाबीहरु माग अनुसार नै भुक्तानी हुन्छन् भन्ने छैन । कतिपय बीमाको भुक्तानी नै नहुन पनि सक्छन् भने कतिपय दाबी रकम बराबर नभएर त्यसको एक सानो हिस्सामात्रै भुक्तानी हुन पनि सक्छन् ।

त्यसैले पुरापुर ९ अर्ब नै भुक्तानी हुन्छ भन्ने हुँदैन । तर यसरी साँच्चै भुक्तानी गर्नुपर्ने भयो भने कम्पनीहरुको नाफामा गम्भीर असर पर्न सक्छ । भलै, बीमा कम्पनीहरुले पनि यस्ता बीमाको पुनर्बीमा गराएका हुन्छन् ।

यस्तो क्षतिले पुनर्बीमा कम्पनीहरुको नाफामा पनि असर पार्ने छ । तर त्यस्तो असर वास्तवमा कुन आकारमा पर्छ भन्ने यकिन तथ्यांक अहिले उपलब्ध हुन सम्भव छैन ।

दाबी भुक्तानीमा शिखर एक्लै ?

यति ठूलो दाबी परेको भए पनि २९ असोजसम्म बीमा कम्पनीहरुले खासै धेरै भुक्तानी दिइनसकेको नृपाल बीमा प्राधिकरणले जनाएको छ । यस अवधिमा जम्म १७ करोड २८ लाख २८ हजार रुपैयाँ हाराहारी दाबी भुक्तानी भएको छ ।

यो रकम अग्रीम दाबी भुक्तानी सहितको हो । तर भुक्तानी भएको यो आँकडाको ९९.८० प्रतिशत अर्थात् करीब शतप्रतिशत शिखर इन्स्योरेन्स एक्लैले भुक्तानी गरेको छ । यसले बीमितहरुलाई समयमै दाबी भुक्तानी दिएर राहत उपलब्ध गराउने मात्रै होइन, नेपालमा बीमाप्रति आम धारणालाई सकारात्मक बनाउने चेष्टामा पनि शिखर इन्स्योरेन्स खरो उत्रिएको देखिन्छ ।

शिखरले २९ असोजसम्म नै १७ करोड २४ लाख ७१ हजारभन्दा बढी दाबी भुक्तानी गरिसकेको छ । यसबाहेक सानिमा जीआईसीले २ लाख १६ हजारभन्दा बढी दाबी भुक्तानी गरेको छ । नेको, आईजीआई, हिमालयन एभरेष्ट र प्रभू इन्स्योरेन्सले पनि थोरैथोरै पैसा भुक्तानी गरेका छन् । अन्य कम्पनीले भने कत्ति पनि भुक्तानी नदिएको विवरण प्राधिकरणले सार्वजनिक गरेको छ ।

यसरी कुल बीमा दाबीको १.९२ प्रतिशतमात्री भुक्तानी भएको अवस्थामा शिखर इन्स्योरेन्सले आफ्नो कम्पनीमा प्राप्त दाबीको साढे १८ प्रतिशत भुक्तानी दिइसकेको छ । संख्यात्मक हिसाबले पनि शिखरको वर्चश्व उच्च छ ।

हालसम्म जम्मा ९७ वटा मागदाबीमा भुक्तानी भएको मध्ये ८९ वटा फाइल त शिखरले मात्रै भुक्तानी गरेको छ । यो भनेको कुल भुक्तानी भएका फाइल संख्याको करीब ९२ प्रतिशत हो ।

यसो भन्दै गर्दा शिखरमा बढी दाबी परेर धेरै भुक्तानी भएको होइन । दाबी सूचीमा शिखर ५ औँ नम्बरमा छ, जसमा कुल दाबीमध्ये करीब १० प्रतिशतमात्रै दाबी परेको छ । तर बीमाप्रतिको विस्वनीयता जाग्रित गर्ने र बीमकको धर्म प्रभावकारी रुपमा निर्वाह गर्ने शिखर इन्स्योरेन्सको मौलिक इमानदारिताले यो सम्भव भएको कम्पनीका अधिकारीले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्