पछिल्लो ११ वर्षमा प्रहरीले बरामद गर्यो ५७००० तोला सुन
काठमाडौँ । नेपाल प्रहरीले आर्थिक वर्ष २०७०/७१ देखि गत साउन मसान्तसम्म करीब ६६५ किलोग्राम (५६ हजार ९८८ तोला) सुन बरामद गरेको जनाएको छ । विभिन्न तौरतरिकाले भएका तस्करीहरुबाट सुराक प्राप्त भएर वा नभए पनि अनुसन्धानबाट उक्त परिमाणमा सुन बरामद भएको हो ।
उक्त सुनबाट राज्यलाई ५ अर्ब २३ करोडभन्दा धेरै राजस्व अशूली भएको नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए । यस्तो सुन विभिन्न सीमानाकादेखि मुख्य रुपमा त्रिभुवन विमानस्थलबाट बरामद हुने गरेको प्रहरीले जनाएको छ ।
उक्त सुन तस्करीको अभियोजनमा यस बीच ६७३ जनालाई गिरफ्तार गरिएको प्रहरीको प्रतिवेदनमा उल्लेख छ । प्रहरीले यसरी सुन समातिसकेपछि थप अनुसन्धानका लागि उक्त सुन नेपाल सरकारको राजस्व अनुसन्धान विभागलाई हस्तान्तरण गर्ने गरेको छ ।
राजस्व अनुसन्धानले भने निश्चित रकम मूल्यांकन गरी यस्तो सुन केन्द्रिय बैंकलाई बेच्छ । स्रोत नखुलेको वा अबैध तवरले ल्याइएको पुष्टि भएका सुनबाट यसरी सरकारकै दुई निकायले किनबेच गरेपछि सुन राष्ट्र बैंक पुग्छ भने त्यसको मूल्य बराबरको पैसा सरकारको संघीय सञ्चित कोषमा जम्मा हुन्छ ।
त्यसपछि राष्ट्र बैंकले यस्ता सुनबाट असर्फी लगायत बनाएर बजारमा बेच्ने गरेको छ ।
तर पछिल्ला वर्षमा सुन समात्ने रफ्तार कम भएको र बजारमा असर्फीको माग अचाक्लि बढेका कारण यो साल दशैँमा राष्ट्र बैंकले असर्फी बेच्न सकेन । भौतिक सुनको अभावका कारण केन्द्रिय बैंक यस्तो अप्ठेरोमा परेको हो ।
सुन तस्करीमा गिरफ्तार हुनेको संख्या यस्तो छ :
आगामी तिहारमा पनि असर्फी उत्पादन हुने संभावना निकै कम रहेको राष्ट्र बैंकको टक्सार विभागका अधिकारीहरुले बताएका छन् । असर्फीको अभाव भएकै कारण केन्द्रिय बैंकले हालैमात्र एक सूचना निकाले चाँदीका सिक्का अर्थात् मेडालियनको मात्रै मूल्य सूची सार्वजनिक गरेको छ ।