राष्ट्र बैंकले ब्याज उठाउने समय थप गरेन भने बैंकहरूलाई के हुन्छ? « Arthapath.com
१५ असार २०८३, सोमबार

राष्ट्र बैंकले ब्याज उठाउने समय थप गरेन भने बैंकहरूलाई के हुन्छ?



नेपाल राष्ट्र बैंकले असार मसान्तपछि दिँदै आएको १५ दिनको ब्याज असुली सुविधा कटौती गरेपछि यस वर्ष बैंकहरूको वितरणयोग्य नाफा र वित्तीय सन्तुलनमा गम्भीर असर पर्ने देखिएको छ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विगत लामो समयदेखि बैंक तथा वित्तीय संस्थाहरूलाई दिँदै आएको एउटा महत्वपूर्ण सुविधा यस वर्ष कटौती गरेपछि बैंकिङ क्षेत्रमा नयाँ तरंग पैदा भएको छ। विगतदेखि सामान्यतया साउन १५ गतेसम्म उठेको ब्याज रकमलाई अघिल्लो आर्थिक वर्षकै असार मसान्तको हिसाबमा समायोजन गर्न पाउने नियम थियो।

तर, केन्द्रीय बैंकले सर्कुलर जारी गर्दै यो सुविधा हटाएपछि अब असार मसान्तकै दिनभित्र उठ्ने ब्याजलाई मात्र सोही वर्षको आम्दानीमा बाँध्न पाइने भएको छ।

यो नीतिगत परिवर्तनका कारण असार मसान्तको अन्तिम दिन ट्वाक्कै ब्याज उठ्छ कि उठ्दैन भन्ने कुराले बैंकहरूको वित्तीय विवरणमा ठूलो फेरबदल ल्याउने देखिन्छ।

कुनै ऋणीले भुलवश वा प्राविधिक कारणले साउन १ गते मात्र ब्याज भुक्तानी गरेमा ऋणीलाई खासै फरक नपरे पनि बैंकहरूको असार मसान्तको ब्यालेन्स सिटमा त्यसको प्रत्यक्ष र ठूलो नकारात्मक असर पर्नेछ। यसले गर्दा बैंकहरूको वितरणयोग्य नाफा (डिस्ट्रिब्युटेबल प्रफिट) सोचिए जस्तो धनात्मक बनाउन निकै कठिन हुने बैंकिङ क्षेत्रका अधिकारीहरू बताउँछन्।

संकटका बेला सुविधा खोसिँदा दबाब

विगतमा देशमा आर्थिक संकट परेका बेला वा कोभिड महामारीको समयमा राष्ट्र बैंकले असोज मसान्त वा साउन मसान्तभरि नै ब्याज संकलन गरेर अघिल्लो वर्षकै खातामा राख्न पाउने गरी एक महिनासम्मको लचिलो सुविधा दिएको इतिहास छ।

तर, अहिले बजारमा शिथिलता कायमै रहेको र बैंकहरू खराब कर्जा (एनपीएल) को दबाब झेलिरहेका बेला वर्षौँदेखि पाइरहेको १५ दिनको न्यूनतम सुविधा समेत खोसिँदा बैंकहरू थप चेपुवामा परेका छन्।

नेपाल बैंकर्स संघ (एनबीए) मार्फत बैंकहरूले यो व्यवस्थालाई निरन्तरता दिनका लागि राष्ट्र बैंकसँग ठूलो लबिङ र अनुरोध समेत गरेका थिए। देशको वर्तमान आर्थिक अवस्था र बैंकहरूको चौथो त्रैमासको वास्तविक तस्बिर दुरुस्त राख्नका लागि यस्तो संकटको समयमा यो सुविधा आवश्यक रहेको बैंकहरूको भनाइ छ।

यद्यपि, राष्ट्र बैंकले अन्तिम समयमा आएर कुनै नयाँ सर्कुलरमार्फत समय थप गरिदिएमा मात्र बैंकहरूले ठूलो राहत पाउनेछन्, अन्यथा असार मसान्तको वित्तीय प्रतिवेदन निकै चुनौतीपूर्ण बन्ने निश्चित छ।

थुप्रै बैंक व्यवस्थापनले यसै असार मसान्तभित्र धेरैभन्दा धेरै रकम असुल गरेर नाफालाई धनात्मक (पोजेटिभ) बनाउने भगिरथ प्रयास गरिरहेका छन् । यदि राष्ट्र बैंकले पुरानै व्यवस्था अनुसार साउन १५ सम्मको समय दिएको भए अहिले ऋणात्मक सञ्चित नाफामा रहेका कतिपय बैंकहरु शतप्रतिशत धनात्मक अवस्थामा पुग्ने आधार तय भइसकेको थियो।


प्रतिक्रिया दिनुहोस्