नेपालमा आधिकारिक रूपमा दर्ता भयो टिकटक
काठमाडौं । भिडियो सामाजिक सञ्जाल प्लेटफर्म टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भएको छ । टिकटकले आवश्यक कागजात पेस गरेसँगै हालै विधिवत रूपमा दर्ता गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।
टिकटकले तिहार अघि नै दर्ता प्रक्रिया पुरा गरिसकेकाे थियाे । तर तिहार विदाका कारण कम्पनीले हिजाे मात्र प्रमाणपत्र लिएकाे हाे । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ३ को उपदफा ६ बमोजिमको व्यवस्था अनुसार मन्त्रालयमा टिकटक दर्ता गरिएको हो ।
यससँगै, अब टिकटकले आधिकारिक रूपमा नेपालमा दर्ता भएसँगै साइबर अपराधको अनुसन्धानमा सघाउने र नेपालको कानून तथा सर्त मान्न तयार हुँदै पर्यटन प्रवर्द्धन तथा डिजिटल साक्षरतामा पनि सघाउने प्रतिबद्धता जनाएको छ ।
यसअघि अश्लीलता फैलाएको भन्दै २०८० कात्तिक २७ मा सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरिएको थियो। तर, गत भदौ ६ गते मात्रै टिकटक प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको थियो। यससँगै आधिकारिक रूपमा दर्ता गरेर सञ्चालन गर्नको लागि सहमति जनाउँदै टिकटकले आवश्यक प्रक्रिया पुरा गरेको हो ।