साउदी अरबले तोड्यो मृत्युदण्डको रेकर्ड « Arthapath.com
३ मंसिर २०८१, सोमबार

साउदी अरबले तोड्यो मृत्युदण्डको रेकर्ड



काठमाडौँ । वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई त्यहाँको अदालतले मृत्युदण्डको सजायँ सुनाएको खबर हामीले सुन्दै आएका हौँ । त्यसमध्ये कयौँ नेपालीलाई चन्दा उठाएरै भए पनि ‘रगतको मूल्य’ तिरेर जिवितै फिर्ता ल्याइएका पनि छन् ।

यसरी मृत्युदण्ड दिनेमा पश्चिम एसियाका खाडी राष्ट्रहरु अगाडी छन् । अधिकतर मृत्युदण्डको कानून मुस्लिम बहुल मुलुकहरुमा सक्रीय छ । अहिले संसारमा शिआ र सुन्नी गरी मुख्यतया दुई किसिमका मुस्लिमको बाहुल्यता छ ।

यसमा पनि विश्व मुस्लिम जनसंख्याको ८५ देखि ९० प्रतिशत सुन्नी मुसलमान छन् । शिआ मुसलमान मुख्यतया इरान र इराकका साथै लेबनान, येमन र बहराइनमा ज्यादा छन् । तर सुन्नीको बाहुल्यता थुप्रै देशमा छ । दक्षिण एसियाका पाकिस्तान र भारतमा ८५ प्रतिशत जति मुस्लिम सुन्नी छन् । बंगलादेशमा ९५ प्रतिशत जति छन् ।

साउदी अरब, टर्की, मोरक्को, मीश्र (इजिप्ट), इन्डोनेसिया, मलेसियाजस्ता देशमा पनि सुन्नी आवादी ज्यादा छ । अमेरिका, रुस, क्यानडाजस्ता देशमा पनि भएका मुस्लिममध्ये सुन्नीको संख्या ८० प्रतिशतभन्दा ज्यादा छ । तर यसमध्ये साउदी अरब त्यस्तो देश हो, जो सुन्नी मुसलनमा बहुल खाडी क्षेत्रको सामरिक नेतृत्व गर्न चाहन्छ ।

नेपालबाट पनि थुप्रै मानिसहरु त्यस देशमा वैदेशिक रोजगारीका लागि गइरहेका छन् । त्यही देशले यो साल अर्थात् सन् २०२४ मा विदेशी नागरिकलाई मृत्युदण्ड दिनमा अहिलेसम्मकै रेकर्ड तोडेको छ । उसले यो सालमात्रै १०० भन्दाबढी विदेशी नागरिकलाई मृत्युदण्ड दिइसकेको समाचार आएको छ ।

समाचार संस्था एएफपीले हालसम्म साउदी अरबमा १०१ विदेशी नागरिकलाई मृत्युदण्ड दिइसकेको लेखेको छ । यो संख्या सन् २०२२ र २०२३ मा केवल ३४–३४ मात्रै थियो । यो साल पुरा हुन अझै डेढ महिना बाँकी छँदा नै अघिल्लो वर्षको तुलनामा ३ गुणा विदेशीलाई मृत्युदण्ड दिइएको हो ।

यसरी मृत्युदण्ड भोग्ने विदेशीको सूचीमा पाकिस्तानीहरु सबैभन्दा धेरै छन् । यो साल पाकिस्तानका २१, यमनका २०, सिरियाका १४, नाइजेरियाका १०, मिश्रका ९, जोर्डनका ८ र इथियोपियाका ७ जनाले मृत्युदण्डको सजायँ पाएको एफपीले लेखेको छ ।

त्यस्तै, सूडान, भारत र अफगानिस्तानका ३–३ जना, श्रीलंका, इरिट्रिया र फिलिपिन्सका १–१ जनाले मृत्युदण्ड भोगेको बताइएको छ । साउदी अरबले सन् २०२२ मा लागूऔषध अपराधीलाई मृत्युदण्ड दिन पुनः सुरु गरेको थियो । त्यसअघि त्यस्ता अपराधिलाई मृत्युदण्ड दिन रोक लगाउने कानून खारेज गरेपछि ज्यानको सजायँ पाउनेको संख्या बढेको छ ।

यो सालमात्रै लागूऔषधको मुद्दामा ९२ अपराधीलाई मृत्युदण्डको सजायँ दिइएकोमा त्यसमध्ये ६९ जना विदेशी थिए । यो वर्षको हालसम्म आउँदा साउदी अरबमा कुल (स्वदेशी र विदेशी सहित) २७४ जनाले मृत्युदण्डको सजायँ भोगिसकेको खबर छ ।

बीबीसी हिन्दिले लेखेको छ– ‘अन्तरराष्ट्रिय मानवअधिकार संस्था एमनेस्टी इन्टरनेशनलका अनुसार सन् २०२३ मा साउदी अरबले चीन र ईरानभन्दा पछाडी सर्वाधिक संख्यामा मृत्युदण्डको सजायँ दिएको थियो ।’ यो साल त पछिल्लो ३ दशकभन्दा ज्यादा समयको रेकर्ड तोडेर साउदी अरबले ब्यापक मात्रामा मृत्युदण्ड दिएको हो ।


प्रतिक्रिया दिनुहोस्