सुजुकी मोटर कर्पोरेशनका संस्थापक ओसामु सुजुकीको निधन
काठमाडौं । सुजुकी मोटर कर्पोरेशनका संस्थापक अध्यक्ष तथा कम्पनीको विश्वव्यापी विस्तारका नेता ओसामु सुजुकीको निधन भएको छ । ओसामु सुजुकीको ९४ वर्षको उमेरमा निधन भएको हो । उनको मृत्यु डिसेम्बर २५ मा लिम्फोमाका कारण भएको कम्पनीले जनाएको छ ।
ओसामु सुजुकीले ४० वर्षभन्दा बढी समय सुजुकी मोटर कर्पको नेतृत्व गर्दै सन् २०२१ मा आफ्नो अवकाशको घोषणा गरेका थिए । त्यतिबेला उनी ९१ वर्षको थिए ।
ओसामु सुजुकीको नेतृत्वमा कम्पनीले विश्व बजारमा विस्तार गरेको थियो । कम्पनी विशेष गरी यसको मिनी कार र मोटरसाइकल को लागी प्रसिद्ध छ।
टोकियोको चाओ युनिभर्सिटीमा कानूनको डिग्री अध्ययन गरेका उनले जुनियर हाई स्कूल शिक्षक र नाइट गार्डको रूपमासमेत काम गरेका थिए ।
सन १९५३ मा स्नातक गरेपछि उनले सुरुमा बैंकमा काम गरे । त्यस पछि विवाह गरेर सुजुकी पारिवारिक व्यवसायमा सामेल भएका थिए। यो टर्निङ प्वाइन्टले उनको छ दशक लामो करियरको सुरुवात गर्यो ।