एप्पलद्वारा म्याक र आईप्याडको मूल्यमा ४२ प्रतिशतसम्मको भारी वृद्धि
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का कारण मेमोरी चिप्सको मूल्य अकासिएपछि एप्पलले आफ्ना प्रमुख उत्पादनहरूको मूल्य ४२ प्रतिशतसम्मले बढाएको छ।
काठमाडौँ । प्रविधि क्षेत्रको ठूलो कम्पनी एप्पलले भारतसहित विश्वभर नै आफ्ना विभिन्न उत्पादनहरूको मूल्यमा भारी वृद्धि गरेको छ। कम्पनीका अनुसार म्याक कम्प्युटर र आईप्याड जस्ता लोकप्रिय सामग्रीहरूको मूल्य साविकको तुलनामा २० देखि ४२ प्रतिशतसम्मले बढेको छ।
बजारमा मेमोरी चिप्सको लागत ह्वात्तै बढेका कारण आफ्ना उत्पादनहरूको मूल्य बढाउनु परेको स्पष्टीकरण एप्पलले दिएको छ।
एप्पलले एक विज्ञप्ति जारी गर्दै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात् कृत्रिम बौद्धिकतामा आधारित डेटा सेन्टरहरूको तीव्र विस्तार भइरहेका कारण बजारमा मेमोरी र स्टोरेजको माग असाधारण रूपमा बढेको बताएको छ।
प्रविधिको इतिहासमा कुनै पनि एउटा पार्टपुर्जाको मूल्य यति छोटो समयमा यसरी कहिल्यै पनि नबढेको कम्पनीले उल्लेख गरेको छ। यसअघिसम्म आफूहरूले थप लागतको भार खपेर ग्राहकलाई मूल्यवृद्धिको असरबाट जोगाउँदै आएको भए पनि अब त्यो अवस्था नरहेको एप्पलले जनाएको छ।
कम्पनीले आफ्ना उपभोक्ताहरूलाई सम्बोधन गर्दै आफूहरू अब आईप्याड र म्याक सहितका थुप्रै उत्पादनहरूको मूल्य बढाउनै पर्ने बिन्दुमा आइपुगेको स्पष्ट पारेको छ। मूल्यवृद्धिको यो खबर ग्राहकहरूका लागि अप्रिय हुनसक्ने कुरा आफूहरूलाई थाहा भएको भन्दै कम्पनीले यसको उचित समाधान खोज्न निरन्तर काम गरिरहेको बताएको छ।
यद्यपि, एप्पलको आम्दानीको मुख्य स्रोतको रूपमा रहेको आईफोनको मूल्यमा भने हाललाई कुनै परिवर्तन गरिएको छैन। आईफोनको मूल्य अहिले पुरानै अवस्थामा कायम राखिएको कम्पनीले जनाएको छ।













