नेपाल टेलिकमले २५ प्रतिशत सेयर सर्वसाधारणलाई दिनुपर्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको स्वामित्वलाई सर्वसाधारण लैजानुपर्ने बताएका छन् । नेपाल टेलिकमको २१ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् ।
उक्त समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपाल टेलिकमले कम्तीमा २५ प्रतिशत सेयरको हिस्सा सर्वसाधारणलाई दिनुपर्ने बताए। सरकारी कम्पनीमा सर्वसाधारणको सेयर हिस्सा भएमा उनीहरूले कम्पनीप्रति अपनत्व महसुस गर्ने उनले जिकिर गरे । ‘अहिले सर्वसाधारण सेयरको हिस्सा कम हुँदा जनतामा अपनत्व कम महसुस भएको छ । यसको कम्तीमा २५ प्रतिशत सेयर हिस्सा पब्लिकको बनाउनुपर्छ’ उनले भने ।
उनले वर्षदिनभित्र नेपाल टेलिकम र विद्युत प्राधिकरणमा निजी क्षेत्रकाे शेयर बढाइने जानकारी गराए।
उनले नेपाल टेलिकम अन्य निजी सेवाभन्दा कमजाेर भएकाे पनि बताए। अब यसरी अगाडि बढ्न नसकिने उल्लेख गर्दै उनले नेपाल टेलिकमलाई अन्य सेवा भन्द प्रभावकारी बनाउन सञ्चालक, व्यवस्थापनदेखि कर्मचारीसम्मलाई निर्देशन समेत दिए । १० दिन लाग्ने काम १० मिनेट हुनेगरी प्रविधिको विकास गर्नुपर्ने आवश्यकता समेत उनले औंल्याए ।
उनले यसका लागि यही आर्थिक वर्षभित्र यो प्रक्रिया थाल्ने बताए । उनले टेलिकमको आम्दानी बढाउन धेरै जनसंख्या भएका मधेस लगायत क्षेत्रमा नेटवर्कलाई थप प्रभावकारी बनाउन सुझाव दिए ।
‘जनतासँग जाेडिएकाे नजिककाे सरकार वडा सरकार हाे। पालिका सरकार हाे,’ उनले भने, ‘तर त्यही सरकारमा राम्राे इन्टरनेट छैन। इन्टरनेट त परै ,फाेन नै लाग्दैन। त्यसैले सरकारले प्रभावकारी काम गर्न सकेकाे छैन।’
उनले ६ हजार ७४३ वडासम्मै फोरजी सेवा पुर्याएर डिजिटाइज गर्नुपर्ने बताए । जनताले दिएको आरटीडीएफ उठाएर सेवा दिन नसके त्यो जनताप्रति धोका हुने उनले बताए ।
डिजिटल नेपाल फ्रेमवर्कको आधार तयार गर्ने काम समेत टेलिकमको रहेको उनले बताए । सरकारले यसै वर्षबाट आर्तिफिसियल इन्टेलिजेन्स (एआई) नीति बनाएर काम सुरू गर्ने समेत उनले बताए ।