गोर्खा फाइनान्समा अवैध सिईओ, कम्पनी डुबाउनेलाई नै जिम्मेवारी !

काठमाडौं । गत पुसदेखि सुरु भएको गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्तिको लफडा टुंगिएको छैन ।
गएको शुक्रबार (बैशाख १९ गते) कम्पनीको सीइओमा फेरि ज्ञानेन्द्र इवाहाङ नियुक्त भएको खबर बाहिरिएसँगै थप ओलोचना बढेको हो ।
उनलाई बैशाख १७ गते बुधवार बसेको संचालक समितिको बैठकले चार वर्षका लागि सीइओमा नियुक्ति गर्ने निर्णय गरेको छ । उनको कार्यकाल बैशाख २१ गते आइतबारदेखि लागू हुनेछ ।
यसअघि गत चैत १० गते बसेको संचालक समितिको बैठकले त्यसको भोलिपल्टैदेखि लागू हुनेगरि सीईओमा नियुक्ति गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको जानकारी सोही दिन बिहान कम्पनीले नियामक निकाय नेपाल राष्ट्र बैंक र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पठाएको थियो ।
तर, राष्ट्र बैंकले भने सोही दिन साँझ ४ बजे इवाहाङलाई सीइओ बनाउने प्रक्रिया नै खारेज गरिदिएको थियो । उनलाई कम्पनीका केही संचालकहरुले आफ्नो स्वार्थपुर्ती गर्न जबरजस्त सीइओ बनाएका थिए ।
नेपाल राष्ट्र बैंकको निर्देशन नं ६ मा सिईओ नियुक्त भएको व्यक्तिलाई ६ महिनाको कुलिङ लाग्ने स्पष्ठ व्यवस्था गरेको छ । चैत्र १० गते उनै इवाहाङलाई संचालक समितिले ४ वर्षको लागी सिईअे नियुक्ती गरेपनि राष्ट्र बैंकले सोही दिन सो निर्णय उल्ट्याएको थियो । तिनै इवाहाङलाई संचालक समितिले १ महिनामै दोस्रो पटक सोही कम्पनीको सिईओ नियुक्त गरेको छ ।
त्यसभन्दा अघि अर्थात् गत पुस १४ गते कम्पनी संचालक समितिले प्रकाश चन्द्र अधिकारीलाई सीइओको जिम्मेवारी दिएको थियो । तर, उनले काम गर्न असमर्थ रहेको भन्दै तत्कालै राजिनामा दिएका थिए ।
सीइओ नियुक्तिमा पटक पटक लफडा भएपछि राष्ट्र बैंकले कम्पनीले विशेष अनुगमन समेत गरेको थियो । राष्ट्र बैंकले गत पुस २४ र २५ गते कम्पनीको सीइओ नियुक्ति प्रक्रियाको अध्ययन तथा अनुगमन गरेको थियो । लगत्तै अधिकारीले पदबाट राजिनामा बुझाएका थिए । अधिकारीको राजिनामा संचालक समितिको बैठकले गत चैत ६ गते नै स्वीकृत गरेको थियो । त्यस लगत्तै इवाहाङलार्य सीइओ बनाउने निर्णय गरेको थियो ।
तर, राष्ट्र बैंकको अनुगमनको कैफियतको आधारमा इवाहाङ सीइओ नियुक्ति गर्न नसक्ने भन्दै नियुक्तिको सबै प्रक्रिया खारेजका लागि निर्देशन दिएको थयो । निर्देशनपछि इवाहाङको नियुक्ति नै खारेज भएको थियो ।
तर, फेरि बैशाख १९ गते बसेको कम्पनी संचालक समितिले उनलाई सीइओमा नियुक्ति गरेको छ । यसअघि उनी कम्पनीमा सिनियर म्यानेजरका रुपमा कार्यरत थिए ।
उनको नियुक्तिसँगै नियुक्ति प्रक्रियालाई लिएर विवाद र आलोचना सुरु भएको छ । उनको नेतृत्व क्षमतामाथि प्रश्न उठ्दै आएको छ । बैंकिङ्ग क्षेत्रमा एक दशक समय बिताए पनि कम्पनीको दीर्घकालीन रणनीति र दैनिक व्यवस्थापनमा अब्बल नभएको भन्दै नकारात्मक टिप्पणी सुरु भएको छ ।
उनी संचालकहरु कल्पना खापुङ, युवराज राइ, कर्मेन्द्र बिक्रम नेम्वाङ लिम्बु लगायतको जोडबलमा सीइओ बनेका हुन् । कम्पनीमा यतिबेला राई र लिम्बुहरुबीचका जातिय द्धन्द नै चर्को छ । कम्पनीमा लिम्बु समूह हाबि छन्, त्यसकारण पनि इवाहाङ सीइओ बनेका हुन् ।
लिम्बु समूहले नै यसअघि सीइओ नियुक्ति भएका अधिकारी विरुद्ध राष्ट्र बैंकमा उजुरी समेत दिएको थियो । उनीहरुकै दबाब र असहयोगमा काम गर्न नसक्ने भन्दै अधिकारीले राजिनामा दिएका थिए ।
फाइनान्सको हालको वित्तीय अवस्था पनि सन्तोषजनक छैन । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण हेर्ने हो भने पनि कम्पनी ६ करोड २१ लाख रुपैयाँ नोक्सानीमा छ । कम्पनीको खराब कर्जा नै १७.४५ प्रतिशत छ । खराब कर्जा पनि वर्षेनि बढ्दो नै देखिन्छ । प्रतिसेयर आम्दानी (इपिएस) पनि ९.५५ रुपैयाँ ऋणात्मक छ । वितरणयोग्य नाफा ५५ करोड ऋणात्मक छ ।
केही वर्षयता नाफा निरन्तर घट्दो क्रममा छ । लगानीकर्ताको विश्वास पनि कमजोर हुँदै गएको देखिन्छ । यस अवस्थामा इवाहाङको नियुक्तिलाई सही निर्णय नभएको भन्दै थप आलोचना बढेको छ । उनको नेतृत्वले कम्पनीलाई थप संकटमा पार्न जोखिम रहेको कम्पनी स्रोत नै बताउँछ ।
इवाहाङ लगायतको समूहले यसअघिको व्यवस्थापकीय नेतृत्वलाई काम गर्न ठुलो असहयोग गरेको आरोप समेत छ । जसका कारण कम्पनी थप समस्या बाटोमा छ । इवाहाङ आफ्नो अनुकूलका व्यक्ति र समूहका इसारामा काम गर्ने भएकाले कम्पनीलाई थप संकटमा लैजान संक्ने कम्पनीकै कतिपय कर्मचारीहरुको आरोप छ ।
‘कम्पनीले केही समयदेखि नै समस्या तर्फ धकेलिरहेको छ, नयाँ नेतृत्वले कम्पनीलाई संकटबाट निकाल्न रणनीति ल्याउनेभन्दा बढी थप बढाउने जोखिम छ’, स्रोतले भन्यो ।
विगतदेखिनै संकटमा पर्दै आएको गोर्खा फाइनान्समा संचालकरुको चरम विवादका कारण थप संकट झेलिरहेको छ । अहिले इवाहाङलाई सिईओ बनाउने बेलामा पनि संचालक समिति अध्यक्ष गौरव बुढाथोकीको विमती रहेको थियो । संचालक समितिमा बहुमतको आधारमा पेलेर इवाहाङलाई सिईओ बनाइएकोमा अध्यक्ष स्वयम संन्तुष्ट छैनन् ।
इवाहाङ यसअघि लालबहादुर थिंङ र सन्तोष घिमिरे सिईओ हुँदा पनि सोही कम्पनीमा सिनियर म्यानेजरको रुपमा कार्यरत रहेका थिए । विगतमा पनि सिईओलाइै बाइपास गरेर केही संचालकहरुको मिलेमतोमा जर्वजस्त कर्जा प्रवाह गरेर व्यक्तिगत लाभ लिने गरेको कम्पनी भित्रैको कर्मचारीहरुको आरोप छ ।