आर्थिक पुनरुत्थानको संकेत : व्यापार र यातायातले सम्हाल्दै अर्थतन्त्र « Arthapath.com
२४ बैशाख २०८२, बुधबार

आर्थिक पुनरुत्थानको संकेत : व्यापार र यातायातले सम्हाल्दै अर्थतन्त्र



काठमाडौं । चालु आर्थिक वर्ष २०८१-८२ मा नेपालको अर्थतन्त्रमा केही आशाजनक संकेत देखिएका छन् ।

विशेषगरी व्यापार, यातायात तथा भण्डारण क्षेत्रले मूल्य अभिवृद्धि वृद्धिदरमा उल्लेखनीय सुधार गर्दै समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने आँकलन गरिएको छ ।

चालु आर्थिक वर्षमा व्यापार क्षेत्रको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा १४.५५ प्रतिशत योगदान रहने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्कले प्रकाशन गरेको चालु आर्थिक वर्षको राष्ट्रिय लेखा सम्वन्धी वार्षिक आँकडाहरुले यस्तो देखाएको हो ।

कुल मूल्य अभिवृद्धि वृद्धिदर ३.३० प्रतिशत हुने सरकारको प्रारम्भिक मूल्यांकन छ । यो तथ्याङ्क अघिल्लो दुई आर्थिक वर्षको तुलनामा उल्लेखनीय सुधार हो ।

गत आर्थिक वर्ष २०८०–८१ मा व्यापार क्षेत्रको वृद्धिदर ०.३६ प्रतिशत ऋणात्मक थियो । २०७९–८० मा यो दर ४.१० प्रतिशत ऋणात्मक रहेको थियो । निर्यातमा सुस्तता, आयातमा अस्थिरता र आन्तरिक उत्पादनको अभावजस्ता कारणले अघिल्ला वर्षहरूमा व्यापार क्षेत्र दबाबमा परेको थियो ।

तर, चालु वर्षमा व्यापारजन्य वस्तुहरूको आयातमा देखिएको वृद्धिको साथै कृषि तथा अन्य व्यापारजन्य वस्तुहरूको आन्तरिक उत्पादनमा आएको सकारात्मक सुधारले मूल्य अभिवृद्धिमा सुधार ल्याउने संकेत देखिएको छ ।

यातायात तथा भण्डारण क्षेत्रबाट उत्साहजनक प्रदर्शन

यातायात तथा भण्डारण क्षेत्रले पनि चालु आर्थिक वर्षमा उल्लेखनीय सुधार आउने देखाएको छ ।

प्रारम्भिक अनुमान अनुसार यस क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा ७.२० प्रतिशत योगदान दिनेछ भने मूल्य अभिवृद्धि वृद्धिदर ९.४५ प्रतिशत पुग्नेछ ।

गत वर्ष २०८०–८१ मा यस क्षेत्रको वृद्धिदर १३.४३ प्रतिशत रहेको संशोधित अनुमान गरिएको छ । जुन, अघिल्लो वर्ष २०७९–८० को १.४५ प्रतिशत वृद्धिदरसँग तुलना गर्दा धेरै गुणा बढी हो । चालु वर्षमा सवारी साधनको आयातमा वृद्धि र पर्यटक आगमनमा देखिएको सकारात्मक लहरले पनि यस क्षेत्रको वृद्धिमा टेवा पु¥याएको विश्लेषण गरिएको छ ।

समग्र अर्थतन्त्रमा सन्देश

व्यापार तथा यातायात क्षेत्रको प्रदर्शनले समग्र अर्थतन्त्रमा पुनरुत्थानको संकेत दिएको छ । कोरोना महामारीपछिको आर्थिक पुनर्संरचनाका प्रयासहरूले थप टेवा दिएको छ ।

यस्तै, नीतिगत सुधारहरू, तथा आन्तरिक उत्पादनको प्रवर्द्धनले आगामी दिनमा अझ सशक्त आर्थिक वृद्धिको बाटो खुला हुने प्रक्षेपण छ ।

विशेषगरी तीव्र सुधार देखिएका क्षेत्रहरूमा लगानी प्रवाह, पूर्वाधार विकास, र डिजिटल कारोबार जस्ता पक्षलाई अझ मजबुत पार्न सकिएको खण्डमा नेपालले आगामी वर्षहरूमा दिगो आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न सक्ने सम्भावना प्रबल देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्