अपर तामाकोशीमा वित्तीय संकट : अझै २ अर्ब नोक्सानीमै, कति बेच्यो बिजुली ? « Arthapath.com
३० बैशाख २०८२, मंगलवार

अपर तामाकोशीमा वित्तीय संकट : अझै २ अर्ब नोक्सानीमै, कति बेच्यो बिजुली ?



काठमाडौं । अपर तामाकोशीको नोक्सानी थप बढेको छ । कम्पनीले अहिले २ अर्ब बढी घाटामा चलिरहेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आइपुग्दा कम्पनीको २ अर्ब ६ करोड ७४ लाख ८२ हजार रुपैयाँ नोक्सानीमा छ । जबकि, गत आवको सोही अवधिमा १ अर्ब ३९ करोड १३ लाख रुपैयाँ घाटामा थियो । आफ्नो वित्तीय अवस्था लगातार सुधार गर्दै आएको कम्पनी एकाएक बाढी पहिरोले क्षति पुर्याएपछि मार खेपेको छ ।

अहिले कम्पनीको विद्युत बिक्री नै घटेको छ । ९ महिनामा कम्पनीले ४ अर्ब २७ करोड ८ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेको छ । तर, यो गत आवको तुलनामा भने ३४.६० प्रतिशत कमी हो । गत आवको सो अवधिमा कम्पनीले ६ अर्ब ५३ करोड २ लाख बढीको बिजुली बिक्री गरेको थियो ।

गत असोज १० गते साँझदेखि देशव्यापी रुपमा परेको अविरल वर्षाका कारण कम्पनी अन्तर्गत संचालित तामाकोशी जलविद्युत केन्द्रको बाँधस्थलक्षेत्र लगायतका संरचनामा क्षति पुयाएको थियो ।

कम्पनीको ड्याम अपरेशन कन्ट्रोल बिल्डिङ, सेटलिंग बेसिन, बक्स कल्भर्ट, हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरणहरु, ट्रान्समिसन लाइन तथा बाँधस्थल प्रवेश मार्ग लगायतका संरचनाहरुमा बाढीले क्षति पुर्याएको थियो ।

माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको विद्युत (४५६ मेगावाट) उत्पादन गत पुस ९ गतेदेखि ८८ दिन बन्द भएको थियो । जसका कारण कम्पनीले ठुलो आर्थिक क्षति व्यहोरिरहेको छ । हाल मर्मत कार्य र पहिरो रोकथाम तथा व्यवस्थापनमा काम भईरहेको कम्पनीले जनाएको छ ।

यस्तो परिस्थितिका बाबजुद पनि कम्पनीको वित्तीय खर्च भने १३.३६ प्रतिशत घटाएको छ । ९ महिनामा कम्पनीका यस्तो खर्च ४ अर्ब ६ करोड ९७ लाख रुपैयाँ कायम भएको छ ।

समिक्षा अवधिमा कम्पनीको अन्य शीर्षकको आम्दानी भने उल्लेख्य बढेर ९७ करोड ९६ लाख रुपैयाँ कायम भएको छ । हाल कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) ९.७६ रुपैयाँ ऋणात्मक छ । यता, कम्पनीको प्रतिसेयर नेटवर्थ भने ४६.७९ रुपैयाँ कायम भएको छ । हाल कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ छ ।

बाढी पहिरोका कारण ठुलो आर्थिक क्षति व्यहोरेको कम्पनीको वित्तीय अवस्था फेरिन अझै केही समय लाग्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्