आर्थिक वर्ष सकिन २ महिना बाँकी रहँदा पूँजीगत खर्च ३४ प्रतिशत मात्र

काठमाडाैं । चालु आर्थिक वर्ष २०८१\८२ सकिन २ महिना मात्र बाँकी रहँदा सरकारले लक्ष्यकाे ३४.१६ प्रतिशत मात्र पूँजीगत खर्च गरेकाे छ ।
चालु आव १० महिना अर्थात साउनदेखि वैशाखसम्म सरकारले पूँजीगततर्फ १ खर्ब २० अर्ब रुपैयाँ मात्र खर्च गर्न सकेको हाे।
लक्ष्यको ३४।१६ प्रतिशतमात्र विकास खर्च गर्न सकेको छ । अब आव सकिन २ महिनामात्र बाँकी छ । यस वर्ष सरकारले ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ बराबर पूँजीगत बजेट विनियोजन गरेको छ ।
सरकारले आर्थिक वर्षकाे यसै अवधिमा लक्ष्यको ३७ प्रतिशत अर्थात एक खर्ब ११ अर्ब ८८ करोड २९ हजार बराबर खर्च गरेकाे थियाे ।
लक्ष्य अनुसार विकास बजेट खर्च गर्ने हो भने बाँकी दुई महिनामा सरकारले २ खर्ब ३१ अर्ब ९७ करोड ७६ लाख रुपैयाँ विकास बजेट खर्च गर्नुपर्ने देखिन्छ । जुन मासिक १ खर्ब १५ अर्ब ९८ करोड ८८ लाख र दैनिक ३ अर्ब ८६ करोडका दरले खर्च गर्नुपर्छ ।
यता चालु तर्फ भने लक्ष्यकाे ६७.७९ प्रतिशत खर्च भएकाे छ । यस वर्ष ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ चालु बजेट विनियोजन भएकोमा १० महिनासम्म ७ खर्ब ७३ अर्ब २२ करोड ६७ लाख रुपैयाँ खर्च भइसकेको छ ।
यस वर्ष सरकारले वित्तीय व्यवस्थातर्फ १० महिनामा २ खर्ब ६४ अर्ब २८ करोड खर्च गरेकाे छ। जुन वार्षिक लक्ष्यकाे ७१.९६ प्रतिशत हाे ।