भारत विरुद्ध ट्रम्प अर्को कदम, भारतीय ट्राभल एजेन्सी र एजेन्टमाथि भिसा प्रतिबन्ध

एजेन्सी। अमेरिकाले भारतकाे ट्राभल एजेन्सी र एजेन्टमाथि भिसा प्रतिबन्ध लगाएकाे छ । अवैध आप्रवासन (इमिग्रेशन) लाई बढावा दिएको आरोपमा अमेरिकाले उक्त प्रतिवन्ध लगाएकाे हाे ।
अमेरिकी विदेश विभागका प्रवक्ता ट्यामी ब्रुसले विज्ञप्ति जारी गर्दै अमेरिकी आप्रवासन कानुन र नीति लागु गर्न, कानुनको शासन कायम राख्न र अमेरिकीहरूको सुरक्षा गर्न यो कदम महत्त्वपूर्ण रहेको बताए ।
भिसा प्रतिबन्धबाट प्रभावित व्यक्तिहरूको बारेमा भने अमेरिकाले कुनै जानकारी दिएको छैन । न त कुनै ट्राभल एजेन्टको नाम उल्लेख गरिएको छ भने कुनै ट्राभल एजेन्सीको बारेमा नै बताएको छ ।
यस वर्षको फेब्रुअरीमा अमेरिकाले केही भारतीयहरूलाई ‘अवैध आप्रवासी’ भन्दै विमानबाट देश निकाला गरेको थियो । हथकडी र खुट्टामा हतकडी लगाएका यी व्यक्तिहरूको तस्बिरहरू बाहिर आएका थिए ।
भारतले अमेरिकाको यो निर्णयप्रति आधिकारिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन । तर यो निर्णयले भारतबाट अमेरिका जान चाहने मानिसलाई कस्तो असर पार्नेछ भनेर चिन्ता भइरहेको बिबिसी हिन्दीले उल्लेख गरेकाे छ ।