दश महिनामा नेपाललाई साढे १२ खर्ब व्यापार घाटा

काठमाडाैं । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा आयात–निर्यात दुवै बढेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षको यही अवधिको तुलनामा चालु आवमा १३.११ प्रतिशतले आयात र ७२.७१ प्रतिशतले निर्यात बढेको छ ।
दश महिनाको अवधिमा नेपालले कुल १६ खर्ब ९२ अर्ब ९ करोड ९३ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ । यसमा नेपाललाई १२ खर्ब ५६ अर्ब २७ करोड ७२ लाख रुपैयाँ घाटा भएको छ । आयात–निर्यात दुवै बढ्दा पनि गत आवको दश महिनाको तुलनामा व्यापार घाटा ६.७२ प्रतिशतले बढेको छ ।
गत आर्थिक वर्ष वर्षकाे यस अवधिमा नेपालले १४ खर्ब २९ अर्ब ५३ कराेड रूपैयाँ बराबरकाे वैदेशिक व्यापार गर्दा ११ खर्ब ७७ अर्ब १८ कराेड ब्यापार घाटा भएकाे थियाे ।
साउनदेखि वैशाखसम्मकाे अवधिमा नेपालले १४ खर्ब ७४ अर्ब १८ कराेड ८२ रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ भने २ खर्ब १७ अर्ब ९१ कराेड रूपैयाँ बराबरकाे वस्तु तथा सेवा निर्यात गरेकाे छ ।