‘एमजी एस५’ ले पायो यूरो एनक्यापबाट ‘फाइभ स्टार’ सुरक्षा रेटिङ « Arthapath.com
७ जेष्ठ २०८२, बुधबार

‘एमजी एस५’ ले पायो यूरो एनक्यापबाट ‘फाइभ स्टार’ सुरक्षा रेटिङ



काठमाडौं । एमजीको नयाँ पूर्ण विद्युतीय एसयुभी एस५ ले यूरोपको प्रतिष्ठित सुरक्षा परीक्षण संस्था यूरो एनक्यापबाट पाँचतारे सुरक्षा रेटिङ प्राप्त गरेको छ ।

नेपालमा समेत बिक्री भइरहेको यस मोडलले विभिन्न मूल्याङ्कन मापदण्डमा सन्तोषजनक प्रदर्शन गर्दै उच्च सुरक्षा स्तर प्रमाणित गरेको हो ।

एस५ ले प्रौढ सवारी सुरक्षामा ९० प्रतिशत, बाल सुरक्षामा ८२ प्रतिशत, सडक प्रयोगकर्ताको सुरक्षाका लागि ८२ प्रतिशत तथा सुरक्षा सहायक प्रणाली मूल्याङ्कनमा ७८ प्रतिशत अंक प्राप्त गर्दै कुलमा पाँचतारे रेटिङ हासिल गरेको हो ।

यसको अर्थ यो गाडीले दैनिक सवारी र आकस्मिक अवस्थाहरूमा यात्रु तथा अन्य सडक प्रयोगकर्ताको सुरक्षामा उच्च स्तर कायम राख्न सक्छ भन्ने प्रमाणित भएको छ ।

एमजी एस५ स्केलेबल मोडुलर प्लेटफर्ममा निर्माण गरिएको हो, जसमा रियर ह्विल ड्राइभ, इन्डिपेन्डेन्ट सस्पेन्सन लगायतका प्रविधिहरू समावेश गरिएको छ । यसमा विश्वमै सबैभन्दा पातलो एलएफपी ब्याट्री प्रयोग गरिएको बताइएको छ, जुन कम्पनीको बैट्री प्रविधिमा गरिएको नवीनतम अनुसन्धानको परिणाम हो ।

यस मोडलको इन्ट्री संस्करणमा ४९.१ किलोवाट आवर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री प्रयोग गरिएको छ, जसले एकपटक चार्ज गर्दा ३४० किलोमिटरको डब्लुएलटीपी रेन्ज दिन्छ। त्यस्तै, अर्को भेरिएन्टमा ६२.२ किलोवाट आवरको ब्याट्री दिइएको छ, जसले ४३० किलोमिटरसम्मको दाबी गरिएको रेन्ज दिन्छ ।

९९ किलोवाट क्षमताको मोटर जडान गरिएको एस५ ले ७.१ सेकेन्डमै ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ भने यसको अधिकतम गति १७५ किलोमिटर प्रतिघण्टा रहेको छ । यो गाडी दैनिक यात्राका लागि मात्र होइन, फराकिलो दूरी पार गर्ने प्रयोजनका लागि पनि उपयुक्त मानिएको छ ।

एस५ मा इनबिल्ट आईस्मार्ट सिस्टम रहेको छ, जसले टिकटक, च्याटजीपीटी, स्पोटीफाई, युट्युब जस्ता एपहरूसँग गाडीलाई एकीकृत गर्छ । यसले प्रयोगकर्तालाई अझ स्मार्ट र इन्टरेक्टिभ ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।

गाडीको भित्री भागमा १२.८ इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन, १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, र माथिल्लो संस्करणमा प्यानोरामिक सनरुफ जस्ता सुविधाहरू उपलब्ध छन्। आधुनिक प्रविधि, आकर्षक डिजाइन र उच्च सुरक्षा विशेषताका कारण एस५ नेपाली विद्युतीय सवारी साधन बजारमा थप प्रतिस्पर्धी विकल्पको रूपमा उभिएको छ ।


प्रतिक्रिया दिनुहोस्