पर्यटन बोर्डको सदस्यबाट प्रदीप अधिकारीलाई हटाउने तयारी

काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई पर्यटन बोर्डको सदस्यबाट हटाइने भएकाे छ । अधिकारीकाे कार्यकाल सकिन ८ महिना मात्रै बाँकी रहँदा नै हटाउने प्रस्ताव आएको हो ।
अधिकारी महानिर्देशक भएको तीन वर्षभन्दा बढी भए पनि मुस्किलले ३\४वटा वैठकमा मात्रै उपस्थित भएको पर्यटन बोर्डकाे भनाइ छ । उनी पर्यटन बोर्ड सञ्चालक समितिको बैठकमा सबैभन्दा कम उपस्थित हुने व्यक्ति हुन् ।
बोर्ड बैठकमा अधिकारी अनुपस्थित रहँदा, सोही समयको संयोगमा नेपाल पर्यटन बोर्ड ऐन २०५३ को संशोधन प्रस्तावमा प्राधिकरणका महानिर्देशकलाई हटाउने विषय पनि अगाडि आएको छ। यद्यपि, संशोधन प्रस्ताव अधिकारीलाई लक्षित गरेर आएको भने होइन।
तर, बोर्ड बैठकमा प्राधिकरणको उपस्थितिबाट प्राप्त हुने इनपुट कमजोर भएकाले उनीहरूको भूमिका प्रस्ट नदेखिएको बताइएको छ। यही कारणले प्राधिकरणको स्थानमा अब पर्यटन विभागका महानिर्देशकलाई बोर्ड सदस्य बनाउने प्रस्ताव अघि सारिएको हो।
पर्यटन बोर्ड सञ्चालक समिति सदस्यले प्रतिबैठक ४ हजार हजारमा १५ प्रतिशत कर काटेर भत्ता पाउँछन् । अधिकारी नेपाल पर्यटन बोर्डको आम्दानी प्रणालीप्रति असन्तुष्ट थिए।
यस्तै उनले अघिल्लो पटक हवाई टिकटमार्फत प्रतिपर्यटक उठाइँदै आएको एक हजार रुपैयाँ रोक्न प्रयास गरेका थिए। तर, उक्त निर्णयलाई लिएर पर्यटन क्षेत्रमै व्यापक विरोध भएपछि, र त्यो व्यवस्था हटाउन स्वयं सरकारको निर्णय आवश्यक पर्ने प्रावधानका कारण अधिकारीको पहल प्रभावहीन बनेको थियाे।