बजेटमा निजी क्षेत्रको उत्साहवर्धन, र दीर्घकालीन सोच आवश्यक


बजेट २०८२/८३
यह वर्षको बजेट २०८२/८३ मा केही आशाजनक र उत्साहजनक पहलहरू समेटिएका छन् —जस्तै स्टार्टअप र नवप्रवर्तनलाई प्रोत्साहन, आधारभूत पूर्वाधारमा केन्द्रित विनियोजन, शिक्षा र स्वास्थ्यमा लक्षित कार्यक्रम, सूचना प्रविधि र आईटी सेवा निर्यातमा कर छुट, र लगानीमैत्री वातावरण निर्माण जस्ता प्रयासहरू सकारात्मक संकेत हुन्।
तर यी सबल पक्षहरू हुँदाहुँदै पनि आर्थिक प्रणालीलाई चलायमान बनाउन र समृद्धितर्फ लैजान अझ ठोस कार्यान्वयन, निजी क्षेत्रको उत्साहवर्धन, र दीर्घकालीन सोच आवश्यक देखिन्छ ।
२०८२/८३ का लागि १९ खर्ब ६४ अर्बको बजेट प्रस्तुत गरिएको छ। तर, यसको संरचना हेर्दा लाग्छ कि हामी अझै पनि खर्चमुखी सोचबाट मुक्त हुन सकेका छैनौं।
१. कुल राजस्व लक्ष्य — १३ खर्ब १५ अर्ब (तर यति उठ्ने सुनिश्चित छैन)
२. चालु खर्च — ११ खर्ब ८० अर्ब (अधिकांश अनिवार्य र बाध्यतामूलक खर्च)
३. वित्तीय व्यवस्थापन खर्च — ३ खर्ब ७५ अर्ब (ऋणको सावा र ब्याज भुक्तानी)
👉 जम्मा १५ खर्ब ५५ अर्ब अनिवार्य खर्चमै गइसकेको छ।
अब पुँजीगत (विकास) खर्च त प्रायः “स्रोत पाए मात्रै गर्ने” अवस्था देखिन्छ। यस्तो संरचनाले देश अझै खर्चमुखी जालोमा फँसेको छ भन्ने संकेत दिन्छ, र उत्पादनमुखी वा आत्मनिर्भर अर्थतन्त्र निर्माणको सपना अझै टाढा देखिन्छ।
मुख्य समस्याहरू:
- राजस्व वृद्धि — करको दर बढाएर होइन, करको आधार (base) विस्तार गरेर राजस्व बढाउनु आवश्यक
- बजेटको प्रकृति — लोकप्रियताका लागि होइन, देशले धान्न सक्ने र दीर्घकालीन विकास सम्भव हुने बजेट
- लगानीमैत्री वातावरण — निजी क्षेत्र र लगानीकर्तामा विश्वास जगाउने, “लगानी गरौं” भन्ने सोच सिर्जना गर्ने
बिदेशी लगानी (FDI):
बिदेशी लगानीलाई प्रवद्र्धन गर्नका लागि लगानीकर्तालाई आकर्षित गर्ने अनुकूल वातावरण सिर्जना गर्नु अत्यन्त आवश्यक छ।
यसका साथै, त्यस्ता लगानीबाट प्राप्त प्रतिफल सजिलै आफ्नो देशमा ल्याउन सकिने व्यवस्थाहरू पनि सुनिश्चित गर्नुपर्छ।
यथार्थपरक सुझावहरू:
- उत्पादनशील र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी
- निजी क्षेत्रसँग सहकार्यमा पूर्वाधार निर्माण
- ऋण व्यवस्थापनमा पारदर्शिता र दीर्घकालीन सोच
- सरकारी सेवामा परिणाममुखी मूल्यांकन प्रणाली
- नीति, नियम र कर संरचनामा स्थायित्व
निष्कर्ष:
अब समय आएको छ — केवल खर्च र घोषणामा होइन,
विश्वास, परिणाम र दूरदृष्टिमा केन्द्रित नीति र बजेट कार्यान्वयनतर्फ अघि बढ्ने।
(ढकालकाे फेसबुकबाट साभार)