बैकिङ प्रणालीबाट थप ४० अर्ब उठाउँदै राष्ट्र बैंक

काठमाडाैं । नेपाल राष्ट्र बैंकले बैकिङ प्रणालीबाट थप ४० अर्ब रूपैयाँ तान्ने भएको छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता व्यवस्थापनका लागि केन्द्रिय बैंकले २१ दिनका लागि उक्त रकम उठाउने भएको हो ।
बोल गर्न सकिने रकम घटिमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ ।
सावाँ तथा ब्याज भुक्तानी आगामी असार १८ गते तोकिएको छ । यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।
राष्ट्र बैंकले प्राप्त बोलपत्रहरूबाट सबैभन्दा कम ब्याजदर भएका प्रस्तावलाई प्राथमिकता दिँदै रकम बाँडफाँड गर्ने बताएको छ। यदि समान ब्याजदर भएका प्रस्तावहरूबाट मागभन्दा बढी रकम प्रस्ताव गरिएमा, प्रोराटा आधारमा बाँडफाँड गरिने व्यवस्था गरिएको छ।