बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्ट « Arthapath.com
२९ जेष्ठ २०८२, बिहीबार

बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्ट



काठमाडौं । कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ ई–स्पोर्ट्स’ले जितेको छ ।

ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको वेस्टमिन्स्टर कलेजले सञ्चालन गरेको प्रतियोगितामा ‘बाघ’ले १३२ अंक प्राप्त गर्दै उपाधि जितेको हो ।

जुन २ बाट सुरु भएको उक्त प्रतिस्पर्धामा ३२४ टिमबाट १,६२० खेलाडी सहभागी भएका थिए । ६ दिनसम्म सञ्चालन भएको अनलाइन प्रतिस्पर्धाबाट उत्कृष्ट प्रदर्शन गर्ने १६ टिमले अन्तिम चरणको लागि स्थान सुरक्षित गरेका थिए ।

अन्तिम १६ मा स्थान बनाउने टिमहरूमा फोर डेथ मेशिन्स, फोर अन्डरडग्स, एब्रप्ट स्लेयर्स, एई, बीएसी, बाघ ई-स्पोर्ट्स, दाइ ई-स्पोर्ट्स, ईजी फाइभ, एलएफएम, फोर वाईडी, नेपाल गेमिङ (एनजी), आरसी थर्टीटु, रियल सेभेज, आरथग, श्रीपेच ई-स्पोर्ट्स र ह्वाइट डेविल्स रहेका थिए । यी टिमले जुन ८ देखि १० सम्म ल्यान टुर्नामेन्टमा १५ खेल खेलेका थिए ।

सोही खेलहरूमा बाघले १३२ अंक ल्याउँदै उपाधि जित्न सफल भएको हो । उपाधिसँगै बाघले नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने नेपाल गेमिङ (एनजी) ले १२६ अंक ल्याएर दोस्रो स्थान प्राप्त गर्दै २०हजार रुपैयाँ जित्दा, बीएसीले १२४ अंकका साथ तेस्रो स्थान हासिल गरी १० हजार रुपैयाँ प्राप्त गरेको हो ।

फ्यान फेभरेट टिम घोषित भएको बाघले थप ६ हजार रुपैयाँ प्राप्त गरेको छ भने त्यसैगरी, ‘विनर विनर चिकेन डिनर’ जित्ने टिमहरूलाई कुल ९ हजार रुपैयाँ प्रदान गरिएको थियो । प्रतियोगिताको उत्कृष्ट खेलाडी फोर डेथ मेशिन्सका आदित्य घोषित भएका छन् उनले नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

ई-स्पोर्ट्स हब तथा टेनेट्सको सहकार्यमा सम्पन्न ‘वेस्टमिन्स्टर शोडाउन २०२५’ कार्यक्रमको मोबिलिटी पार्टनर टुटल तथा डिजिटल पार्टनरको रूपमा डिजीपल सोल्युसन्स रहेको थियो ।

कार्यक्रमपछि प्रतिक्रिया दिँदै कलेजका हेड अफ एडमिशन एण्ड मार्केटिङ गोविन्द देव बल्लभ अधिकारीले भने, ‘यस्ता प्रतिस्पर्धा केवल मनोरञ्जनका लागि मात्र होइन, लिडरशिप, टीमवर्क र आत्मविश्वास विकास गर्ने एउटा माध्यम हो। वेस्टमिन्स्टर शोडाउन २०२५ ले युवाहरूलाई आफ्नो प्रतिभा देखाउने उत्कृष्ट मञ्च प्रदान गरेको छ ।’


प्रतिक्रिया दिनुहोस्