निफ्राको पहिलो हरित ऊर्जा ऋणपत्रको बाँडफाँड

काठमाडौं । एनआइएमबि एस क्यापिटलको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा रहि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा )ले निष्काशन गरेको “निफ्रा ग्रीन इनर्जी बोन्ड ६ प्रतिशत २०८८/८९” नामको हरित उर्जा ऋणपत्रको बाँडफाँड सम्पन्न भएको छ ।
जेष्ठ १८ गतेदेखि २५ गतेसम्म जारी गरिएको रु ५ अर्ब बराबरको यस ऋणपत्रमा, कूल निष्काशन रकममध्ये ६० प्रतिशत संस्थागत तथा ४० प्रतिशत सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको थियो। निष्काशन अवधिभर सर्वसाधारण र विभिन्न संघसंस्थाबाट उत्साहजनक सहभागिता देखिएको थियो।
एनआइएमबि एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे भन्छन “नेपालको पहिलो हरित उर्जा ऋणपत्रको सार्वजनिक निष्काशनलाई सफलतापूर्वक सम्पन्न गर्न पाउनु हाम्रो लागि निकै गर्वको कुरा हो । यो पहल नविनता र दुरदर्शितामा आधारि हाम्रो सिद्धान्तको स्वभाविक विस्तार हो । एनआइएमबि एस क्यापिटलको तर्फबाट हामी यस्तो ऐतिहासिक पहलमा अग्रसर हुन पाएकोमा उत्साहित छौं । आगामी दिनहरुमा अझै यस्ता अर्थपूर्ण परियोजनाहरु लिएर आउने विश्वास दिलाउन चाहन्छौं ।”
७ वर्षको अवधि रहि वार्षिक ६ प्रतिशत ब्याजदर भएको यस ऋणपत्र नेपालमै पहिलो पटक सार्वजनिक रुपमा जारी गरिएको हरित उर्जा ऋणपत्र रहेको छ ।
यस बाँडफाँड प्रक्रियाको सफलतामा नेपाल सरकार, अर्थ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, स्टक एक्सचेन्ज, सिडिएस एण्ड क्लियरिङ, ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युट, कोरिया इन्टरनेशनल कोअपरेशन एजेन्सी, साथै विभिन्न विदेशी दातृ निकाय, कम्पनीका साझेदार र पत्रकार वृत्तको सहयोगप्रति आभार व्यक्त गरिएको छ।