बैंकिङ क्षेत्रका समस्या समाधानका लागि सुझाव दिन डा. कार्कीको संयोजकत्वमा उपसमिति गठन

काठमाडाैं । हाल बैंकिङ क्षेत्रमा देखिएको समस्याकाे दिर्घकालिन समाधानका लागि सुझाव दिन उपसमिति गठन भएकाे छ।
नेपाल राष्ट्र बैंकले डा रेवतबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय ‘बैंकिङ क्षेत्र सुधार तथा विकास सुझाव उपसमिति’ गठन गरेको हाे।
उक्त उपसमितिमा नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहाल र राष्ट्र बैंकको नियमन विभागका प्रमुख गुरुप्रसाद पौडेल सदस्य रहेका छन्। राष्ट्र बैंक सञ्चालक समितिको गत साता बसेको बैठकले उक्त उपसमिति गठन गर्ने निर्णय गरेको हो।
उपसमितिको मुख्य उद्देश्य बैंकिङ क्षेत्रमा देखिएको समस्याहरू ब्याजदर एकल अंकमा झरेको भए पनि कर्जा प्रवाह सुस्त हुनु, ऋण असुलीमा चुनौती, खराब कर्जाको बढ्दो ग्राफ लगायत विषयमा विस्तृत अध्ययन गरी समाधानका लागि रणनीतिक सुझावहरू पेश गर्नु हो।
यो उपसमिति राष्ट्र बैंकको उच्च प्राथमिकतामा परेको विषयमा केन्द्रित रहनेछ र बैंकिङ प्रणालीको सुधार, स्थायित्व तथा विश्वास पुनःस्थापनामा निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको छ।