कमर्स व्यवसायीलाई साउन २ भित्र सरकारी पोर्टलमा सूचीकृत हुन निर्देशन

काठमाडाैं । सरकारले विद्युतीय माध्यम (ईकमर्स) मार्फत वस्तु तथा सेवा बिक्री गर्ने सबै व्यवसायीहरूलाई अनिवार्य रूपमा सरकारी पोर्टलमा सूचीकरण गर्न निर्देशन दिएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक अत्यन्त जरुरी सूचना जारी गर्दै ईकमर्स व्यवसायीहरूलाई आगामी २ साउनभित्र सूचीकरणका लागि निवेदन पेश गर्न आग्रह गरेको हो।
गत वैशाख २ गतेदेखि लागू भएको विद्युतीय व्यापार ऐन, २०८२ अनुसार विभागले अनलाइन कारोबारलाई नियमन र व्यवस्थित गर्ने उद्देश्यले यो प्रक्रिया अघि बढाएको हो। ऐन लागु हुनु अगाडिदेखि सञ्चालनमा रहेका तथा नयाँ सुरु गर्न चाहने सबै ईकमर्स व्यवसायले यो निर्देशिका पालना गर्नुपर्ने सूचनामा उल्लेख छ।
सूचीकरणका लागि आवश्यक विवरणहरू
व्यवसायीहरूले विभागको विद्युतीय व्यापार पोर्टल (doc.gov.np) मा आवेदन दर्ता गर्नुपर्नेछ। आवेदन दिनका लागि निम्न विवरण अनिवार्य गरिएको छः
व्यवसायको नाम, ठेगाना
दर्ता निकाय र दर्ता प्रमाणपत्र नम्बर
स्थायी लेखा नम्बर, मूल्य अभिवृद्धि कर नम्बर
सम्पर्क विवरण
ग्राहक सेवा तथा गुनासो सुन्ने जिम्मेवार व्यक्ति वा इकाईको जानकारी
साथै, प्राइभेट फर्म, साझेदारी फर्म वा कम्पनी भएको खण्डमा सञ्चालकहरूको पहिचान खुल्ने विवरण र व्यवसायको सम्पत्ति विवरण समेत पेश गर्नुपर्ने विभागले जनाएको छ।
विभागले आवेदन दिने तरिका र आवश्यक विवरणबारे जानकारी आफ्नै वेबसाइटमा उपलब्ध रहेको जनाएको छ। तोकिएको म्यादभित्र सूचीकरण नगरी व्यवसाय सञ्चालन गरे कानुनबमोजिम कारबाही हुने चेतावनी पनि विभागले दिएको छ।