खातामा प्यान अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको अनुरोध
काठमाडाैं । एनआईसी एशिया बैंकले आफ्ना लाखौं ग्राहकहरूलाई लक्षित गर्दै खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ।
यस अभियानमार्फत बैंकले ग्राहकमैत्री कर व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्य लिएको छ।
अब ग्राहकहरूले घरमै बसेर वा मोबाइलबाटै प्यान अपडेट गर्न सक्ने सहज सुविधा प्राप्त गर्न सक्नेछन्। बैंकले आफ्नो पोर्टल panupdate.nicasiabank.com तथा एनआईसी एशिया माेबैंक मोबाइल एपमा रहेको “प्यान अपडेट” विकल्पमार्फत तुरुन्तै प्यान अद्यावधिक गर्न सकिने व्यवस्था मिलाएको छ।
साथै, जसलाई डिजिटल माध्यम प्रयोग गर्न अप्ठ्यारो छ, उनीहरूका लागि निकटतम शाखा कार्यालयबाट समेत प्यान अद्यावधिक गर्न सकिने व्यवस्था गरिएको छ।
प्यान अद्यावधिक गरेपछि ग्राहकहरूको ब्याजमा भएको करकट्टी स्वतः E-TDS प्रणालीमा अद्यावधिक हुनेछ। यसले गर्दा आयकरको अनुसूची १० अनुसार स्वचालित रूपमा कर विवरण मिलान हुनेछ, जसबाट कर प्रमाणपत्र तथा कर चुक्ता प्रमाणपत्र सजिलै प्राप्त गर्न सकिनेछ। अब यी प्रमाणपत्र लिन बैंकमा पुग्नुपर्ने झन्झट अन्त्य हुने बैंकको विश्वास छ।
बैंकले जानकारी गराएअनुसार, ग्राहकले प्यान अद्यावधिक नगरेकाे कारण E-TDS ब्याजकर दाखिला नभएको अवस्थामा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नु परेको अवस्थामा बैंक जिम्मेवार नहुने, जसको जिम्मेवारी ग्राहक आफैले लिनुपर्ने बैंकले जनाएकाे छ।
















