सिमेन्ट उद्योगमा होङ्शीको अग्रता, निर्माण सुस्त हुँदा पनि ९ अर्ब २५ करोडको व्यापार « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

सिमेन्ट उद्योगमा होङ्शीको अग्रता, निर्माण सुस्त हुँदा पनि ९ अर्ब २५ करोडको व्यापार



काठमाडाैं । होङ्शी शिवम् सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ९ महिनामै ९ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ ।

नेपालको सबैभन्दा ठूलो हरित सिमेन्ट उद्योग होङ्शी शिवम् सिमेन्ट प्रालिले हालै सार्वजनिक गरेको वित्तीय विवरणले कम्पनीको कार्यसम्पादन उच्च गतिमा अघि बढिरहेको देखाएको हो ।

गत आर्थिक वर्ष २०८०/०८१ मा कम्पनीले ११ अर्ब ९२ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।

नाफाको दृष्टिले पनि कम्पनीले उल्लेखनीय प्रगति गरेको छ। सञ्चालकीय नाफा अनुपात २३ प्रतिशत पुगेको छ । सन् २०२३ मा ९ प्रतिशत रहेको यस्तो नाफा सन् २०२४ मा १७ प्रतिशर थियो ।

विद्युत तथा इन्धन खर्चमा आएको गिरावट, उत्पादन लागतको व्यवस्थापन र मूल्य वसूलीको सुधारले नाफामा प्रत्यक्ष प्रभाव पारेको कम्पनीले जनाएको छ ।

यस्तै कम्पनीको वित्तीय अनुशासन र सुधारिएको कार्यसम्पादनका आधारमा क्रेडिट रेटिङ एजेन्सी आइसीआरए नेपालले कम्पनीलाई एक्रा नेपाल ए टु प्लस छोटो अवधि ऋण रेटिङ प्रदान गरेको छ। साथै, कम्पनीको दीर्घकालीन ऋण चुक्ता भएकाले पहिलेदेखि कायम रहेको दीर्घकालीन रेटिङ फिर्ता गरिएको छ।

कम्पनीको कुल ऋण अनुपात ०.२४ गुणामा झरेको छ भने कुल ऋण–सञ्चालकीय नाफा अनुपात १.५ गुणामा आइपुगेको छ, जुन वित्तीय स्थायित्वको दृष्टिले बलियो संकेत मानिन्छ।

निर्माण सुस्त हुँदा पनि बजारमा अग्रता

नेपाली सिमेन्ट उद्योग हाल मागको दृष्टिले दबाबमा भए पनि होङ्शी शिवम् सिमेन्टले व्यवसायिक रणनीतिमार्फत बजारमा आफ्नो स्थान सुरक्षित राख्न सफल भएको छ। कम्पनीले क्लिन्कर उत्पादनका लागि २ मिलियन मेट्रिक टन र सिमेन्ट पिसाइका लागि २.३ मिलियन मेट्रिक टन वार्षिक क्षमता रहेको एकीकृत प्लान्ट सञ्चालन गर्दै आएको छ।

चिनियाँ होङ्शी ग्रुप (७ प्रतिशत स्वामित्व) र नेपालको शिवम् सिमेन्टसँग सम्बद्ध शिवम् होल्डिङ्स (३० प्रतिशत) को संयुक्त लगानीमा सञ्चालित यो कम्पनीले थोरै अवधिमा नै बजारमा राम्रो ब्रान्ड सञ्जाल र विश्वसनीयता बनाएको छ।

चुनौतीः ग्राहकमा निर्भरता र कार्यशील पूँजीमा चाप

यद्यपि, कम्पनीले अझै केही महत्वपूर्ण चुनौतीहरू बेहोर्नुपरेको छ। कम्पनीको क्लिन्कर बिक्रीमा ९६५ र सिमेन्ट बिक्रीमा २७५ अंश शीर्ष १० ग्राहकहरूमा सीमित छ, जसले ग्राहक केन्द्रित जोखिम बढाएको छ। यस्तो अवस्थामा एक वा दुई ग्राहकको कारोबार घट्नाले सम्पूर्ण आम्दानीमा असर पर्न सक्छ।

त्यस्तै, कम्पनीको कार्यशील पूँजी चक्र अझै सन्तुलित हुन सकेको छैन। ९ महिनामा कार्यशील पूँजी अनुपात २३ प्रतिशत कायम रहेको छ, जुन अघिल्लो अवधिको ३६ प्रतिशत भन्दा घटेको भए पनि, अझै सुधारको खाँचो छ। साथै, कम्पनीले घोषणा गरेका अघिल्ला दुई वर्षका लाभांशमध्ये झण्डै १ अर्ब १० करोड रुपैयाँ अझै वितरण हुन बाँकी रहेको छ, जसले नगद प्रवाह व्यवस्थापनमा दबाब सिर्जना गरेको छ।

कम्पनीको हालको नगद मौज्दात २.७ अर्ब रुपैयाँ रहेको बताइएको छ, जसमा बैंक ग्यारेन्टीमार्फत सुरक्षित गरिएको देनदारी प्रणाली र सञ्चालन लागत नियन्त्रण मुख्य सहारा बनेका छन्। तर, उच्च लाभांश घोषणाले नगद प्रवाहमा तनाव उत्पन्न गरेको भन्दै विश्लेषकहरूले कम्पनीलाई थप सतर्कता अपनाउन सुझाव दिएका छन्।

भविष्यमा कम्पनीको प्राथमिकता वित्तीय स्थायीत्व कायम राख्दै ग्राहक विविधीकरण, कार्यशील पूँजी चक्रमा सुधार र जोखिम न्यूनिकरणमा केन्द्रित रहने देखिन्छ। यद्यपि, यदि निर्माण क्षेत्र पुनः सक्रिय भयो भने होङ्शी शिवम् सिमेन्ट उच्च बजार हिस्सा र सञ्चालन क्षमताका आधारमा थप फाइदा उठाउन सक्ने स्थिति छ।


प्रतिक्रिया दिनुहोस्