काठमाडौंमा भिसाको औपचारिक कार्यालय उद्घाटन, मनोज थापा नेपाल प्रमुख नियुक्त
काठमाडौं । डिजिटल भुक्तानीमा विश्वव्यापी अग्रणी कम्पनी भिसाले काठमाडौंमा आफ्नो नेपाल कार्यालयको औपचारिक उद्घाटन गरेको छ।
यस ऐतिहासिक कदमले नगदरहित अर्थतन्त्रको दिशातर्फ अघि बढिरहेको नेपालको यात्रालाई थप मजबुत आधार दिने कम्पनीको दीर्घकालीन प्रतिबद्धतालाई प्रतिविम्बित गर्दछ।
भिसाले नेपालमा डिजिटल भुक्तानी पहुँच विस्तार गर्ने, सुरक्षित तथा सहज वित्तीय समाधान उपलब्ध गराउने लक्ष्यका साथ नयाँ कार्यालय स्थापना गरेको हो। कम्पनीका अनुसार, यसले उपभोक्ता र व्यापारी दुवैका लागि डिजिटल कारोबारलाई अझ सरल र भरपर्दो बनाउनेछ।
नेपाल प्रमुखमा मनोज थापाको नियुक्ति
नेपालस्थित कार्यालयको स्थापना सँगसँगै, भिसाले मनोज थापालाई नेपाल प्रमुखको जिम्मेवारी दिएको घोषणा पनि गरेको छ। थापाले अबदेखि बंगलादेश, नेपाल र भुटान क्षेत्रका भिसा कन्ट्री म्यानेजर सब्बीर अहमदलाई प्रत्यक्ष रिपोर्ट गर्ने छन्।
नियुक्तिपछि मनोज थापाले भने, “नेपालमा डिजिटल भुक्तानीको प्रयोग विस्तार गर्ने अभियानमा भिसासँग सामेल हुन पाउँदा म सम्मानित छु। भिसाको नवप्रवर्तन र सुरक्षित कारोबारप्रतिको प्रतिबद्धता मेरो व्यक्तिगत दृष्टिकोणसँग मेल खान्छ। म डिजिटल रूपमा सशक्त नेपाल निर्माणमा सकारात्मक योगदान दिन तत्पर छु।”
भिसाका कन्ट्री म्यानेजर सब्बीर अहमदले भने, “हामी काठमाडौंमा कार्यालय स्थापना गर्न पाउँदा निकै उत्साहित छौं। मनोजको अनुभव र नेतृत्वले नेपालमा भिसाको लक्ष्यलाई रणनीतिक रूपमा अगाडि बढाउनेछ।”
नेपालमा जन्मिएका मनोज थापाले युके र भारतमा प्राप्त शैक्षिक तथा व्यवसायिक अनुभवबाट समृद्ध वैश्विक दृष्टिकोण ल्याएका छन्। उनी साना तथा मझौला उद्यमहरूको सशक्तिकरण, वित्तीय समावेशीकरण प्रवर्द्धन, र प्रविधि मार्फत दिगो प्रभाव सिर्जना गर्न प्रतिबद्ध छन्।
भिसामा प्रवेश गर्नु पूर्व थापा फोनपेमा साझेदारी तथा नवप्रवर्तन विभागको प्रमुख थिए, जहाँ उनले सीमापार भुक्तानी तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थासँगको सहकार्यमा महत्वपूर्ण भूमिका खेलेका थिए। त्यसअघि, उनले भारतस्थित लिभक्विक टेक्नोलोजीमा वरिष्ठ व्यवसाय विकास प्रबन्धकको रूपमा कार्य गर्दै कम्पनीको वृद्धिमा उल्लेखनीय योगदान दिएका थिए।



















