इजरायल र इरान भ्रमण नगर्न सरकारको आग्रह, सुरक्षा सतर्कता अपनाउन निर्देशन « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

इजरायल र इरान भ्रमण नगर्न सरकारको आग्रह, सुरक्षा सतर्कता अपनाउन निर्देशन



काठमाडौं । मध्यपूर्वमा बढ्दै गएको सैन्य तनावलाई मध्यनजर गर्दै नेपाल सरकारले आफ्ना नागरिकहरूलाई इजरायल र इरानको यात्रा नगर्न विशेष अपिल गरेको छ।

परराष्ट्र मन्त्रालयले शनिबार एक सुरक्षा निर्देशिका (एडभाइजरी) जारी गर्दै ती देशहरूको अवस्था सामान्य नहुँदासम्म पूर्व निर्धारित यात्रा कार्यक्रमहरू समेत स्थगित गर्न कडाइका साथ सुझाव दिएको हो।

मन्त्रालयले मध्यपूर्वको विकसित परिस्थितिलाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै हाल ती देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

एडभाइजरीमा भनिएको छ, ‘इजरायल र इरानमा रहेका नेपाली नागरिकहरूले त्यहाँका स्थानीय निकायहरूले जारी गरेका सुरक्षा निर्देशनहरू पूर्ण रूपमा पालना गर्नुहोस्, सकेसम्म घरभित्रै रहनुहोस् र आवश्यक सावधानी अपनाउनुहोस्।’

साथै, सरकारले त्यहाँ रहेका नेपालीहरूलाई आफ्नो क्षेत्रको नेपाली समुदाय र सम्बन्धित निकायहरूसँग नियमित सम्पर्कमा रहन पनि आग्रह गरेको छ। मन्त्रालयले सम्बन्धित देशको पूर्व अनुमति बिना कुनै पनि यात्रा नगर्न सचेत गराउँदै नेपाली नागरिकको सुरक्षा नै पहिलो प्राथमिकता रहेको बताएको छ।


प्रतिक्रिया दिनुहोस्