मतदानका लागि हजारौँले छाडे उपत्यकाः रित्तियो काठमाडौँ, सुनसान बने सडक « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

मतदानका लागि हजारौँले छाडे उपत्यकाः रित्तियो काठमाडौँ, सुनसान बने सडक



काठमाडौँ । बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनको तयारी पूरा भएसँगै यतिबेला काठमाडौँ उपत्यकाको रौनक फेरिएको छ। मंगलबार मध्यरातदेखि निर्वाचनको ‘मौन अवधि’ सुरु भएपछि यतिबेला न त सडकमा चुनावी माइकिङ सुनिएको छ, न त डिजिटल माध्यम (फेसबुक, टिकटक) मा नै प्रचारप्रसारको कोलाहल छ।

निर्वाचन आयोगले भौतिक वा डिजिटल कुनै पनि माध्यमबाट प्रचार गर्न रोक लगाएका कारण उपत्यकाको वातावरण यतिबेला शान्त र स्थिर बनेको छ।

आफ्नो मताधिकार प्रयोग गर्नका लागि काठमाडौँबाट हजारौँको संख्यामा मानिसहरू गाउँघर फर्किएका छन्। मानिसहरू बाहिरिने क्रम बिहीबार बिहानसम्मै जारी रहने देखिएको छ।

यसरी ठूलो संख्यामा मतदाताहरू थातथलो फर्किएकाले र बुधबारदेखि नै तीन दिनसम्म सार्वजनिक बिदा दिइएकाले पनि सडकमा सवारी साधनको आवागमन निकै पातलो देखिएको छ। सधैँ ट्राफिक जामले निसासिने कोटेश्वर, कलङ्की र नयाँ बसपार्क जस्ता नाकाहरू अहिले अनौठो गरी सुनसान बनेका छन्।

मौन अवधिका कारण सडकमा सुरक्षा सतर्कता बढाइएको छ भने छिटपुट गुड्ने गाडीहरूले मात्र सडकको शून्यतालाई चिरेका देखिन्छन्। भोलि मतदानको दिन अत्यावश्यक र पास भएका बाहेकका सवारी साधन ठप्प रहनेछन्, यद्यपि सर्वसाधारणलाई हिँडडुल गर्न भने रोक लगाइएको छैन। उपत्यकाका यी रित्ता सडकहरूले भोलि हुन गइरहेको ‘लोकतन्त्रको उत्सव’ का लागि देश पूरै तयारी अवस्थामा रहेको संकेत गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस्