इप्पान धुलिखेल बैठक: ‘भिजन २०२९’ सहित ५० बुँदे कार्ययोजना पारित, माघमा हिमालय हाइड्रो एक्स्पो हुने « Arthapath.com
२१ असार २०८३, आइतबार

इप्पान धुलिखेल बैठक: ‘भिजन २०२९’ सहित ५० बुँदे कार्ययोजना पारित, माघमा हिमालय हाइड्रो एक्स्पो हुने



काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नवनिर्वाचित कार्यसमितिको दोस्रो बैठकले ऊर्जा क्षेत्रको समग्र विकास, व्यवसायीको हकहित र लगानी संरक्षणका लागि ‘इप्पान भिजन २०२९’ अन्तर्गत ५० बुँदे ऐतिहासिक कार्ययोजना पारित गरेको छ । अध्यक्ष मोहनकुमार डाँगीको अध्यक्षतामा असार १९ र २० गते काभ्रेको धुलिखेलमा बसेको बैठकले उक्त महत्वपूर्ण निर्णयहरू गरेको हो ।

पारित कार्ययोजनामा रोकिराखेका १६ हजार मेगावाट क्षमताका आयोजनाहरूको विद्युत खरिद सम्झौता (पीपीए) तत्काल खुलाउन पहल गर्ने, अन्तर्राष्ट्रिय मापदण्डअनुसारको ‘बैंकबल पीपीए’ को मस्यौदा तयार पार्ने र वन तथा जग्गा प्राप्तिको झन्झटिलो प्रक्रिया अन्त्य गर्न ‘सनसेट ल’ ल्याउन पैरवी गर्ने जस्ता नीतिगत सुधारका विषयहरू समेटिएका छन् ।

यस्तै, ऊर्जा क्षेत्रलाई प्राथमिकता प्राप्त क्षेत्र घोषणा गरी ९ प्रतिशतभन्दा कम ब्याजमा कर्जा उपलब्ध गराउन पहल गर्ने, आन्तरिक खपत बढाउन औद्योगिक ग्राहकलाई सस्तो दर मिलाउने तथा भारत र बंगलादेशसम्म प्रसारण लाइन निर्माणलाई तीव्रता दिने संकल्प पनि गरिएको छ । इप्पानलाई अनुसन्धानमूलक ‘थिङ्क ट्याङ्क’ को रूपमा विकास गर्दै यसको गरिमा बढाउने प्रतिबद्धता कार्ययोजनामा उल्लेख छ ।

बैठकले संस्थाको कार्यविभाजनलाई व्यवस्थित बनाउन विधानबमोजिम विभिन्न १६ वटा समिति तथा उपसमितिहरू गठन गरेको छ । जसका संयोजकहरूलाई १५ दिनभित्र कार्यक्षेत्र पेश गर्न निर्देशन दिइएको छ । यसैगरी, ऊर्जा क्षेत्रका अनुभवी व्यक्तित्व गणेश कार्कीको संयोजकत्वमा ११ सदस्यीय सल्लाहकार समिति र पूर्व सचिव दिनेशकुमार घिमिरेको नेतृत्वमा ९ सदस्यीय विज्ञ सल्लाहकार समिति पनि गठन गरिएको छ ।

यसैगरी, इप्पानले आफ्नो मुख्य गौरवको कार्यक्रम ‘हिमालय हाइड्रो एक्स्पो’ को पाँचौँ संस्करण आगामी २०८३ साल माघ २, ३ र ४ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना गर्ने घोषणा गरेको छ ।

बैठकमा अध्यक्ष डाँगीले स्पष्ट भिजन र कार्ययोजनाका साथ इप्पानलाई बलियो, सक्षम र एकताबद्ध संस्थाका रूपमा अघि बढाउने दृढता व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्