जीवन बीमा बजारमा सावधिक बीमाकै वर्चस्व: ११ महिनामा १ खर्ब ७७ अर्बको व्यवसाय « Arthapath.com
२१ असार २०८३, आइतबार

जीवन बीमा बजारमा सावधिक बीमाकै वर्चस्व: ११ महिनामा १ खर्ब ७७ अर्बको व्यवसाय



काठमाडौं । नेपालको जीवन बीमा व्यवसायमा सावधिक बीमालेखको हिस्सा सबैभन्दा बलियो देखिएको छ । चालु आर्थिक वर्ष २०८३ को जेठ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूले कुल १ खर्ब ७७ अर्ब ६५ करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

यो व्यवसाय गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.५० प्रतिशतले बढी हो । गत वर्षको जेठसम्ममा कम्पनीहरूले १ खर्ब ५५ अर्ब १५ करोड ७५ लाख रुपैयाँ संकलन गरेका थिए ।

प्राप्त तथ्याङ्क अनुसार समीक्षा अवधिमा सावधिक बीमालेखबाट मात्रै सबैभन्दा धेरै ७१ अर्ब ६० करोड ६१ लाख रुपैयाँ संकलन भएको छ । जसको हिस्सा कुल व्यवसायमा ४०.३१ प्रतिशत रहन आउँछ ।

दोस्रो स्थानमा रहेको अग्रिम भुक्तानी सावधिक बीमालेखले १८.७८ प्रतिशत हिस्सा ओगट्दै ३३ अर्ब ३६ करोड ४७ लाख रुपैयाँ संकलन गरेको छ । यसैगरी, बालबच्चा सम्बन्धी सावधिक बीमालेख तेस्रो स्थानमा छ, जसबाट २९ अर्ब ३२ करोड १७ लाख रुपैयाँ (१६.५० प्रतिशत) आर्जन भएको छ ।

चौथो स्थानमा रहेको रुपान्तरित सावधिक बीमालेखको हिस्सा ११.७० प्रतिशत अर्थात् २० अर्ब ७९ करोड ३१ लाख रुपैयाँ रहेको छ ।
अन्य बीमालेखहरूको अवस्था यस्तो छ:
एकल बीमाशुल्क: ७ अर्ब ५८ करोड ६४ लाख रुपैयाँ (४.२७ प्रतिशत)
आजीवन बीमालेख: ३ अर्ब ९२ करोड २२ लाख रुपैयाँ (२.२१ प्रतिशत)
वैदेशिक रोजगार म्यादी: ३ अर्ब ८ करोड २८ लाख रुपैयाँ (१.७४ प्रतिशत)
लघु बीमालेख: ३ अर्ब ८ करोड ११ लाख रुपैयाँ (१.७३ प्रतिशत)
म्यादी बीमालेख: १ अर्ब ६२ करोड ३६ लाख रुपैयाँ (०.९१ प्रतिशत)
अन्य बीमालेख: ३ अर्ब २७ करोड ३० लाख रुपैयाँ (१.८४ प्रतिशत)

समग्र व्यवसाय विस्तार भए पनि वैदेशिक रोजगार म्यादी बीमालेखतर्फको व्यवसाय भने गत वर्षको तुलनामा ३.४४ प्रतिशतले घटेको छ । बाँकी सबै क्षेत्रको व्यवसायमा सुधार आउँदा कुल बजार सकारात्मक दिशामा अघि बढेको देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्